क्रान्तिशिखा धितालविरुद्धको प्रदर्शनको रास्वपाले गर्‍यो विरोध



काठमाडौंं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर जेन–जी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको विरोध गरेको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा पार्टी महामन्त्री विपिनकुमार आचार्यले विरोध जनाएका हून ।

उनले फरक विचार राखेकै आधारमा सांसदलाई धम्की दिने तथा हिंसात्मक गतिविधिको चेतावनी दिने कुरा कुनैपनि हालतमा स्वीकार्य हुन नसक्ने बताए । उनले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत पक्ष भएको उल्लेख गर्दै फरक विचार राखेकै कारण सांसदविरुद्ध लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको पनि बताए ।

आचार्यले यस्ता धम्की दिने कार्यमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई आग्रह गरिसकेको सदनलाई जानकारी गराए।बैठकमा उनले भने, ‘म तिम्रो कुरामा असहमत हुन सक्छु, तर म तिम्रो बोल्ने अधिकार रक्षाका लागि निरन्तर लडिरहन्छु’ भन्ने भोल्टेयरको भनाइले अभिव्यक्ति स्वतन्त्रताको लोकतान्त्रिक सहिष्णुतालाई देखाउने उल्लेख गरे।

नेपालको संविधानले समेत अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको भन्दै उनले फरक विचार राखेकै कारण सांसदविरुद्ध धम्की आउनु गम्भीर विषय भएको बताए ।

प्रकाशित मिति : आश्विन १, २०८३ बिहीबार  ४ : १७ बजे