काठमाडौं,असोज ४ । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ‘ईडीएल भिआरएस’ मार्फत सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ छपाइको काम सुरु गरेको छ ।
पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको अत्यधिक चाप र लामो समयदेखि थन्किएर रहेको लाइसेन्स छपाइ सम्बन्धी जटिल समस्या समाधान गर्न यो नयाँ प्रविधि अपनाएको हो ।
यो नयाँ प्रणाली लागू भएसँगै नयाँ लाइसेन्स लिने तथा पुरानो नवीकरण गर्ने सम्पूर्ण प्रक्रिया थप द्रुत, सहज र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ । ईडीएल भिआरएसमा प्रविष्ट गरिएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्ने छ । त्यहाँबाट छपाइ सकिएपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयहरूमा पठाउने व्यवस्था मिलाइएको छ । यस व्यवस्थाले विगत लामो समयदेखि छपाइ र वितरणमा देखिँदै आएका ढिलासुस्ती कम हुने दाबी गरिएको छ ।
नयाँ प्रविधिको सुरुवात गर्दै पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाक मार्फत सम्बन्धित कार्यालयहरुमा पठाइसकिएको विभागले जनाएको छ । नयाँ व्यवस्था अनुसार प्रदेश सरकारहरुले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफैँ लाइसेन्स छपाइ गर्न सक्ने छन् । सोही प्रावधान अनुसार मधेश प्रदेशले आफ्नै व्यवस्थापनमा छपाइ अघि बढाएको छ । भने लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सम्झौता गर्दै छपाइ प्रक्रिया अघि बढाएको छ । प्रदेश सरकारले सम्झौता नगरेको खण्डमा भने सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको प्रत्यक्ष समन्वयमा छपाइको व्यवस्था मिलाइएको विभागका अधिकारी बताउँछन् ।










