काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा पदबाट हटाउने विषय आफ्नो प्रतिवेदनमा नरहेको स्पष्ट पारेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव तथा कार्यदलका सदस्य महेश बस्नेतले अध्यक्षको राजीनामा माग्ने, हटाउने वा आलोचना गर्ने विषय प्रतिवेदनमा नरहेको बताए ।
उनका अनुसार बलथली बैठकपछि विभिन्न मस्यौदा तथा १३ वटा समूहबाट प्राप्त सुझावलाई समेटेर एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र शंकर पोखरेललाई दिइएको थियो । तीन नेताले तयार पारेको एकीकृत प्रतिवेदनका आधारमा कार्यदलमा थप छलफल गरी साझा प्रतिवेदन तयार गरिएको बस्नेतले जानकारी दिए ।
कार्यदलले तत्काल विशेष महाधिवेशन वा विशेष विधान महाधिवेशन नबोलाउने सहमति गरेको छ । यद्यपि, नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको विषय स्वाभाविक रूपमा उठ्न सक्ने र त्यसलाई रोक्न नसकिने बस्नेतको भनाइ छ ।
त्यस्तै, नियमित विधान महाधिवेशनमा ७० वर्षे उमेर हद, दुई कार्यकाललगायत विगतका निर्णय तथा विधानसम्बन्धी विषयमा छलफल गर्न सकिने उनले बताए।
कार्यदलले पार्टीको एकता सुदृढ गर्न राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने विषयमा पनि सहमति गरेको छ । वर्तमान सरकारका ‘अधिनायकवादी, प्रतिशोधपूर्ण र जनविरोधी’ गतिविधिविरुद्ध आन्दोलन अघि बढाउने उद्देश्यसहित परिषद्को बैठक बोलाउने सहमति भएको बस्नेतले बताए ।










