साइबर आक्रमणपछि सेयर कारोबार बन्द



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज सोमबारको नियमित सेयर कारोबार स्थगित गरेको छ। ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर डेटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको भनिए पनि टीएमएस प्रणालीको सर्भर राखिएको डेटा हब प्रालिमा साइबर आक्रमण भएपछि कारोबार स्थगित भएको हो।

नेप्सेका सीईओ चुडामणि चापागाईंका अनुसार डेटा हबमा आइतबारदेखि देखिएको साइबर आक्रमणका कारण ७२ वटा ब्रोकरको टीएमएस सञ्चालन गर्न नसकिने अवस्था छ।

हालसम्म समस्याको समाधान हुन नसकेको नेप्सेले जनाएको छ। सेयर कारोबार पुनः सञ्चालनमा आउने भन्नेबारे भने तत्काल कुनै समयसीमा सार्वजनिक गरिएको छैन।

असोज ४ गते बिहान करिब ५ः३० बजे प्रणालीमा साइबर आक्रमण भएको पुष्टि भएको डेटा हबले जनाएको छ। आक्रमण हुनुभन्दा करिब डेढ घण्टाअघिसम्मको सम्पूर्ण डेटा सुरक्षित रहेको पनि डेटा हबले जनाएको छ। टीएमएस नेप्सेको पूर्वाधारसहित अन्य सम्बन्धित प्रणालीसँग जोडिएकाले पर्याप्त प्राविधिक परीक्षण नगरी अनलाइन ल्याउँदा जोखिम थप फैलिन सक्ने पनि डेटा हबले विज्ञप्तिमार्फत जनाएको छ।

टीएमएस प्रणाली अपरेटर कम्पनी वाइको प्राइभेट लिमिटेडले आक्रमणपछि सम्भावित थप क्षति रोक्न कम्पनीले आफ्ना सबै प्रणाली तत्काल बन्द गरेको जनाएको छ।

साइबर आक्रमणमा कसको संलग्नता छ भन्ने हालसम्म कुनै जानकारी आएको छैन।

टीएमएस प्रणालीमाथि साइबर आक्रमण भएको पुष्टि भएपछि लगानीकर्ताहरूले सामाजिक सञ्जालमा प्रश्न उठाउँदै असन्तुष्टि पोखिरहेका छन्। एक लगानीकर्ताले फेसबुकमा प्रश्न गरेका छन्, ‘लाखौँ लगानीकर्ताको विश्वास र खर्बौँको सम्पत्ति जोडिएको नेप्सेमा साइबर आक्रमण हुनु सामान्य विषय होइन। प्रश्न सीधा छ—सुरक्षा प्रणाली कमजोर थियो कि जिम्मेवार निकायको तयारी कमजोर ? ’

त्यस्तै विश्लेषक भास्कर क्षेत्रीले ‘दलाल, माफिया, तस्करहरूको घेराबन्दीमा सेयर बजार, टीएमएस प्रणालीमाथि ह्याक गरियो। यस्ता जल्लादहरूको भण्डाफोर गरौँ, एकसाथ आवाज उठाऔँ’ भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्।

प्रकाशित मिति : आश्विन ५, २०८३ सोमबार  १२ : ३१ बजे