काठमाडौ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीमा नेतृत्व हस्तान्तरण आवश्यक रहेको निष्कर्षसहित अध्यक्ष केपी शर्मा ओलीलाई लिखित धारणा बुझाएका छन् ।
एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला मंगलबार भट्टराईले ओलीलाई आठबुँदे लिखित दस्तावेज बुझाएका हुन् । बैठकमा निर्धारित समयमा सबै विषय राख्न सम्भव नहुने भएपछि उनले आफ्नो धारणा लिखित रूपमा बुझाएको बताइएको छ । भट्टराईले बैठकमा आफ्नो धारणा भने अर्को दिन राख्नेछन् ।
भट्टराईले फागुन २१ को निर्वाचन तथा जेनजी आन्दोलनपछि विकसित घटनाक्रमले पार्टीमा नेतृत्व हस्तान्तरणको आवश्यकता देखाएको उल्लेख गरेका छन् । निर्वाचन समीक्षा तथा पुनरावलोकनका लागि गठित कार्यदलका प्रतिवेदन, आम कार्यकर्ता र जनताको भावनासमेत नेतृत्व परिवर्तनतर्फ रहेको उनको दाबी छ ।
उनले अध्यक्ष ओलीले स्वविवेक र स्वेच्छाले नेतृत्व हस्तान्तरणको विषय स्वीकार गर्दै त्यसका लागि सहजीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् । भट्टराईको दस्तावेजमा हालको परिस्थितिमा पार्टीको नेतृत्व अघि बढ्न कठिन भएको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनसम्मका लागि सहमतिमा अन्तरिम नेतृत्वको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
अन्तरिम नेतृत्व हालकै पदाधिकारीमध्येबाट बनाउने वा बाहिरबाट ल्याउने भन्ने विषयमा भने उनले ठोस विकल्प प्रस्तुत गरेका छैनन् । सहमतिका आधारमा नेतृत्वको नयाँ व्यवस्थापन गर्न सकिने उनको धारणा छ ।
भट्टराईले राष्ट्रिय प्रतिनिधि परिषद् वा विधान महाधिवेशन बोलाएर पार्टीको विधान, नीति, कार्यक्रम तथा राजनीतिक प्रतिवेदन पुनरावलोकन गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् । उनले पार्टीभित्र ७० वर्षे उमेरहद पुनःस्थापित गर्नुपर्ने तथा आन्तरिक लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने गरी विधान संशोधन गर्नुपर्ने बताएका छन् ।
त्यसपछि स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुने र निर्वाचनलगत्तै महाधिवेशन गर्नुपर्ने उनको प्रस्ताव छ । पार्टी पुनर्गठनका क्रममा युवा पुस्तालाई नेतृत्वमा ल्याउने वैधानिक व्यवस्था गर्नुपर्ने, जनसंगठनलाई स्वायत्त रूपमा सञ्चालन गर्न दिनुपर्ने तथा फरक मत, प्रश्न र आलोचनालाई सहज रूपमा स्वीकार गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
सामूहिक निर्णय प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने उनको प्रस्ताव छ ।पार्टी र युवाबीचको संवाद कमजोर भएको उल्लेख गर्दै भट्टराईले विभिन्न युवा समूहसँग संवाद तथा सहकार्यको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । जेनजी पुस्ताका युवालाई पार्टीको प्लेटफर्ममा ल्याएर जिम्मेवारी दिनुपर्ने उनको प्रस्ताव छ ।
भट्टराईले सरकारसँग पार्टीको सम्बन्धबारे पनि छुट्टै सुझाव दिएका छन् । सरकारका सकारात्मक कामलाई समर्थन गर्ने र कमजोरीको आलोचना गर्ने नीति लिनुपर्ने उनको धारणा छ । पार्टीका विषयगत विभागमार्फत मन्त्रालयका काम, सरकारको नीति तथा कार्यक्रम, बजेट र घोषणापत्र कार्यान्वयनको नियमित ‘सोसल अडिट’ गर्नुपर्ने तथा त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको प्रस्ताव छ । सोही आधारमा सरकारसँगको सम्बन्ध र पार्टीको भावी रणनीति तय गर्नुपर्ने उनले बताएका छन् ।
एमालेभित्र पछिल्लो समय नेतृत्व पुनर्गठनको विषयमा बहस तीव्र बनेको छ । भट्टराईले यसअघि पनि एमाले यथास्थितिमा अघि बढ्न नसक्ने भन्दै नीति, संगठन, कार्यशैली र नेतृत्वमा नयाँपन आवश्यक रहेको बताएका थिए ।
अध्यक्ष ओलीले भने नेतृत्व परिवर्तनको माग र पार्टीभित्रको पुनर्गठनसम्बन्धी बहसप्रति असहमति जनाउँदै आएका छन् । उनले नेतृत्व परिवर्तनको विषय उठाउने नेताहरूले पार्टीभित्रै बहस गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।










