काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई धम्क्याएको भनिएको अडियो सार्वजनिक भएको विषयमा तत्काल छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद संग्रौलाले राज्यको चेन अफ कमान्ड र मर्यादालाई चुनौती दिने गरी आएको उक्त अभिव्यक्तिबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिन्।
उनले कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई अत्यन्त तल्लो स्तरको भाषा प्रयोग गर्दै धम्क्याएको विषयले राष्ट्रिय सुरक्षा निकाय र निजामती सेवाको मर्यादामाथि प्रश्न उठाएको बताईन् ।
सार्वजनिक भएको भनिएको अडियोमा ती अधिकृतले सशस्त्र प्रहरी महानिरीक्षकदेखि गृहमन्त्रीसम्मलाई लक्षित गर्दै ‘स्वाट्टै हान्छु’ जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिएको सुनिएको सांसद संग्रौलाले बताईन्।
उनले भनिन्, “एउटा भन्सार अधिकृतले गृहमन्त्रीलाई नै हान्ने क्षमता राख्छन् भने यो सदनमा हामी के गरिरहेका छौं ?”










