काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पर्यटन गतिविधिमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी केहि दिन अति भारी वर्षाको सुचना लगातार जारि गरीरहेकोले टानले पर्यटन गतिविधिमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले बिज्ञप्तिमार्फत जारी गरेको सूचनामा पदयात्री तथा पर्यटकको सुरक्षालाई प्राथमिकता दिँन आग्रह गरिएको छ।सूचनामा आरोहण तथा साहसिक पर्यटन गतिबिधिमा सहभागि नहुन नगाराउन पनि भनिएको छ ।
पदयात्राका लागि निस्कन लागेका पदयात्री, पदयात्रा मार्गमा रहेका पदयात्री तथा सहयोगी टोलीका सदस्यलाई खोला किनार, भिरालो जमिन, पहिरोको जोखिम तथा डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन टानले अनुरोध गरेको छ।
नियमित रूपमा मौसम पूर्वानुमान तथा मौसमी अवस्थासम्बन्धी तथ्यांक र सूचनाहरू अद्यावधिक रूपमा हेरी सुरक्षा योजना बनाउन पनि सुचनामार्फत आग्रह गरिएको छ।
कुनै समस्या परेको अवस्थामा स्थानीय सरकारका निकाय, सुरक्षा निकाय र संरक्षित क्षेत्रका व्यवस्थापन निकायसँग समन्वय गरी पर्यटक तथा सहयोगी टोलीका सदस्यको सुरक्षा सुनिश्चित गर्नसमेत अनुरोध गरिएको छ।
टानले मौसमसम्बन्धी जानकारी तथा विपद् र आकस्मिक सेवाका लागि सरकारले उपलब्ध गराएका हटलाइन नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।
वर्षासम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि ११३९, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सकिने टानले जनाएको छ।
सम्भावित विपद्मा नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, जोखिमयुक्त क्षेत्रका स्थानीय पालिका तथा संरक्षित क्षेत्रका व्यवस्थापकसँग निरन्तर सम्पर्कमा रही काम गर्ने टानको सचिवालयले जनाएको छ।
थप सूचना तथा सहयोगका लागि टान सचिवालयका पदाधिकारीहरूमा समेत सम्पर्क गर्न सकिने पनि जनाइएको छ।











