काठमाडौँ, असोज ८ । राष्ट्रिय सभाका सांसदहरुहले चाडपर्व नजिकिदै गर्दा बजारमा खाद्यन्नको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । ।
राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसद सोनाम गेल्जेन शेर्पाले चाडवाडमा आपूर्ति सहज बनाउन, बजार अनुगमन प्रभावकारी बनाउन र कालोबजारी अन्त्य गर्न सरकारसँग माग गरे । उनले सहज अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाई जनतालाई राहत दिन आग्रह गरे ।
सांसद भुवनबहादुर सुनारले ग्रेजोन मिडियामा नेपाल सम्बन्धी आएको समाचार बारेमा स्पष्ट पार्न सरकारसँग आग्रह गरे । सांसद मदनकुमारी शाह ९गरिमा०ले जापानका लागि राजदूत सिफारिस हुनुभएका व्यक्तिको उक्त देशको ‘पिआर’ रहेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो बारेमा सत्यतथ्य जानकारी गराउन माग गरे । सांसद युवराज शर्माले शिक्षा, स्वास्थ्य, व्यापार, जनताको सुरक्षाका क्षेत्रमा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद राजेन्द्र लक्ष्मी गैरेले त्रिपुरेश्वर चोकमा केही दिन अघि चालकसँग भएको विवाद र चालकले आत्मदाह गरेको समाचारका बारेमा सरकारसँग स्पष्ट जानकारी माग गर्दै त्यस्तो अवस्थामा राज्यका निकायले संवाद गरेर मनाउनुपर्नेमा सो नभएको भन्दै टिप्पणी गरे।
सांसद सरेशकुमार आलेमगरले भोटेकोशीमा गएको बाढी जलवायु परिवर्तनका असरका कारण भएको बताउँदै अनुकूलनका क्षेत्रमा स्थानीय आदिवासी, जनजातिसँग भएका सिप र अनुभवको सहयोग लिनुपर्नेमा जोड दिए । रासस










