पुँजीभन्दा नोक्सानी बढि हुने खतरा, किन बढ्दैछ एनआईसी एशिया बैंकको संकट ?



काठमाडौं । वित्तीय सूचक लगातार खस्कँदै गएको देशकै ठूला वाणिज्य बैंकमध्येको एक एनआईसी एशिया बैंक अपेक्षाकृत सुधार गर्न असमर्थ देखिएको छ ।

वित्तीय सूचकका आधारमा पछिल्लो पङ्क्तिमा रहेका अन्य केही बैंकहरूले आफ्नो वित्तीय अवस्था क्रमशः सुधार गर्दै लगेका छन् तर पछिल्ला वित्तीय विवरणहरूले पनि एनआईसी एशिया बैंकले अपेक्षाकृत सुधार गर्न नसकेको प्रमाणित गरेका छन् ।

बैंकले प्रकाशित गरेका पछिल्ला वित्तीय विवरणहरू हेर्दा तत्काल र शीघ्र सुधार नभए बैंकको भविष्यमाथि नै प्रश्न उठाउन मिल्ने खालका छन् । जिम्मेवार निकाय, मिडिया र सरोकारवालारूबाटै बैंकको भविष्यमाथि लगातार प्रश्न उठाइरहेका छन् ।

बैंकको सबैभन्दा ठूलो चुनौती अहिले खराब कर्जा नै हो। गत असारसम्म एनआईसी एशियाको खराब कर्जा (एनपीएल) ९.२६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ८.७४ प्रतिशत थियो।

बैंकको खराब कर्जा उल्लेख्य रूपमा बढ्दै जानु र कर्जा प्रवाहको भारी सुस्तताले व्यवसाय विस्तार र सम्पत्तिको गुणस्तर खस्किँदै गएको देखाउँछ ।

बैंकको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड रुपैयाँ ऋणात्मक रहेको छ, जसले बैंकको वित्तीय अवस्था पूर्ण रूपमा दबाबमा रहेको देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी २२.५६ प्रतिशत घटेर ७ अर्ब ८४ करोड रुपैयाँमा झरेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा ऋणात्मक सञ्चिति नै १४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । बैंकले हालसम्म व्यहोरेको घाटा लगभग बैंकको सम्पूर्ण शेयर पुँजी बराबर पुगेर बैंक पुँजीको आकार जत्रै सञ्चित नोक्सानीमा छ ।

बैंकको सञ्चित नोक्सानी लगभग कुल चुक्ता पुँजीकै बराबर पुगेको छ । आम्दानी गुम्दै जानु, खराब कर्जा झन बढ्दै जानु र सञ्चिति घाटा अत्यधिक बढ्नुले बैंकको वित्तीय स्थायित्वमाथि ठूलो संकट देखाउँछ ।

यति कमजोर अवस्थामा रहेको बैंकले घाटा पूर्ति गरेर शेयरधनीहरूलाई लाभांश वा प्रतिफल वितरण गर्ने र हाल बोनस शून्य अवस्थामा काम गरिरहेका कर्मचारीलाई बोनस खुवाउने सम्भावना आफूहरूले देख्न छोडेको बैंकका कर्मचारीहरू नै स्वीकार्न थालेका छन् ।

वित्तीय अवस्था सुधार्न बैंकले कोसिस गरिरहेको भए पनि परिणाम नआउँदा बैंकको भविष्यलाई लिएर कर्मचारी नै विश्वस्त हुन छाडेको नाम उल्लेख गर्न नचाहने सर्तमा एक उच्च तहका कर्मचारीले बताए ।

कुनै समय करिब ४ हजार कर्मचारी रहेको बैंकले अहिले कर्मचारी संख्या घटाएर करिब २,९०० मा झारेको छ भने शाखा र एटीएम नेटवर्क पनि सानो बनाइरहेको छ। एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्यको आगमनपछि उनले सञ्चालन खर्च घटाएर बैंकलाई वित्तीय सन्तुलनमा पुर्‍याउने कोसिस गरिरहँदा पनि सीईओ सुजित शाक्य सफल हुन सकेका छैनन् । उनको प्रयासका बाबजुद पनि बैंकको अवस्था झन संकटोन्मुख हुँदै गएको छ ।

जति सुधारको प्रयास गरे पनि बैंकको अवस्था झन-झन कमजोर बन्दै गएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्यको क्षमतामाथि नै प्रश्न उठ्न थालेको छ ।

एनआईसी एशिया बैंकको अवस्था ओरालो लाग्न थालेको लामै समय भइसकेको छ ।

अवस्था ओरालो लागेपछि एनआईसी एशियामाथि राष्ट्र बैंकको निगरानी र दबाब पनि शृङ्खलाबद्ध नै छ ।बैंकभित्रको सुशासन र वित्तीय अवस्थालाई लिएर राष्ट्र बैंकको नियमनकारी चासो र हस्तक्षेप त स्वाभाविक नै हो ।यद्यपि राष्ट्र बैंककै केही प्रभावशाली व्यक्तिहरूले बैंकभित्रको सुशासन र वित्तीय अवस्थालाई देखाएर एनआईसी एशियामा पनि भित्रभित्रै हस्तक्षेप गर्ने गरेको पनि नाम नबताउने सर्तमा बैंकका एक उच्च कर्मचारीले बताए ।

राष्ट्र बैंककै एक प्रभावशाली अधिकारीले बैंकको कमजोरीलाई देखाएर दबाबमार्फत आफू निकटकालाई बैंकको उच्च नेतृत्वमा ल्याउने र आफूअनुकूल काम गराउने गर्दा अपेक्षाकृत सुधार गर्न असम्भव भएको ती कर्मचारीले बताए ।

उनको दाबि अनुसार राष्ट्र बैंकका ती प्रभावशाली अधिकारीले सीईओ सुजित शाक्यमार्फत गराउन खोजेका कैयन निर्णयहरू बैंककै अध्यक्ष अशोक अग्रवालले रोकेका छन् ।

राष्ट्रबैंकका डेपुटी गभर्नर दीर्घ रावलसहितका केहिले बैंक भित्र हस्तक्षेप बढाइरहेको श्रोतको दाबी छ ।

बैंकमा सञ्चालक समितिको अध्यक्ष अशोककुमार अग्रवाल रहेका छन् । बैंकको सञ्चालक समितिका अन्य सदस्यमा रामचन्द्र संघई, आदित्यकुमार अग्रवाल, केशवप्रसाद लम्साल, रामकृष्ण खतिवडा, अनुपा प्रधान राजभण्डारी र जयन्तकुमार अग्रवाल रहेका छन् ।

प्रकाशित मिति : आश्विन ८, २०८३ बिहीबार  ५ : २३ बजे