पहिरो खसेपछि पृथ्वी राजमार्ग बन्द, देशभरका अन्य सडक पनि अबरुद्द



काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। गएराति ढुंगासहितको पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प भएको हो ।

वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि रातभर पृथ्वी राजमार्ग बन्द गरिएको थियो। आज बिहान ५ बजेदेखि यातायात सञ्चालन गर्ने तयारी भए पनि कृष्णभिरमा पुनः पहिरो खसेपछि सवारीसाधन सञ्चालन हुन नसकेको हो ।

धादिङ प्रहरीले पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । तर निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको प्रहरीले बताएको छ ।

गत भदौ १४ गते कृष्णभिर क्षेत्रमा सडक भासिएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो। सोही अस्थायी डाइभर्सनमा पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।

यस्तै, पहिरोका कारण कान्ति लोकपथसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं–हेटौँडा आवतजावत बन्द भएको छ ।

कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको भोटखोला क्षेत्रमा पनि पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ ।

निरन्तर वर्षाका कारण विभिन्न सडकखण्डमा पहिरो र बाढीको जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

बाढी र पहिरोको जोखिमपछी नेपाल प्रहरीले विभिन्न राजमार्गमा रात्रि समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विभिन्न राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

प्रकाशित मिति : आश्विन ९, २०८३ शुक्रबार  ८ : ५२ बजे