काठमाडौं। नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशनका सम्पूर्ण तयारी, समन्वय तथा सहजीकरणका लागि यी समितिहरू गठन गरिएको हो।
महाधिवेशन व्यवस्थापनका क्रममा नीतिगत निर्णय लिन, विभिन्न समितिका कामको अनुगमन तथा सहजीकरण गर्न सभापति गगनकुमार थापाको संयोजकत्वमा ‘१५औँ महाधिवेशन केन्द्रीय निर्देशन समिति’ बनाइएको छ।
यस निर्देशन समितिमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठका साथै केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य रहेका छन्। समितिको सदस्य सचिवमा प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेललाई तोकिएको छ।
यसैगरी, महाधिवेशनका विभिन्न पक्षलाई प्रभावकारी बनाउन आर्थिक, सञ्चार, आवास, स्वास्थ्य लगायतका विषयगत समितिहरू गठन गरी संयोजकहरू तोकिएको छ:
-आर्थिक व्यवस्थापन समिति: संयोजक कोषाध्यक्ष उमेश श्रेष्ठ
-सूचना, सञ्चार तथा प्रविधि समिति: संयोजक प्रवक्ता देवराज चालिसे
-सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समिति : संयोजक उदयशमशेर राणा
-अतिथि स्वागत समिति : संयोजक सहमहामन्त्री डा. डिला संग्रौला पन्त
-प्रदेश तथा स्थानीय तहगत समन्वय समिति : संयोजक सहमहामन्त्री बहादुरसिंह लामा
-समारोह स्थल व्यवस्थापन समिति: काठमाडौं जिल्ला सभापति
-ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समिति : सुधीर शिवाकोटी
-स्वयंसेवक व्यवस्थापन समिति : केन्द्रीय सदस्य गणेश लामा
-भोजन व्यवस्थापन समिति : केन्द्रीय सदस्य तिलक रानाभाट
-आवास व्यवस्थापन समिति : केन्द्रीय सदस्य रमेशप्रसाद धमला
-स्वास्थ्य समितिस् केन्द्रीय सदस्य डा :केदारनरसिंह केसी
-यातायात व्यवस्थापन समिति : केन्द्रीय सदस्य विजयबहादुर स्वाँर
-सांस्कृतिक–साहित्यिक संयोजन समिति : केन्द्रीय सदस्य सीता गुरुङ
साथै, कांग्रेसले विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई सदस्यका रूपमा मनोनयन गरेको छ। यसअघि गत भदौ १ गतेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिसकेको छ। नवगठित समितिहरूले आफ्नो जिम्मेवारीअनुसार कार्य प्रारम्भ गर्ने पार्टीले जनाएको छ।










