स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह



काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ शनिबार स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्री शाह गत मंगलबार महासभामा सहभागी हुन अमेरिका गएका थिए। उनले बिहीबार महासभालाई सम्बोधन गर्दै नेपालको प्राथमिकता, जलवायु संकट र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा नेपालको धारणा राखेका थिए।

सम्बोधनका क्रममा उनले भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनबाट सिर्जित संकटको उदाहरणका रूपमा प्रस्तुत गर्दै हिमाली क्षेत्रमा बढ्दो जोखिमबारे विश्व समुदायको ध्यानाकर्षण गराए।

शाहले जलवायु परिवर्तनले सीमा नचिन्ने उल्लेख गर्दै हिमनदी पग्लिने, बाढी र पहिरोजस्ता जोखिम नेपालसँगै चीन र भारतसम्म फैलिन सक्ने बताए। साथै, जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित नगरी जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली, सुरक्षित पूर्वाधार र दीर्घकालीन तयारीमा लगानी गर्नुपर्नेमा जोड दिए।

अमेरिका बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय प्रतिनिधिसँग भेटवार्तासमेत गरेका थिए।

प्रकाशित मिति : आश्विन १०, २०८३ शनिबार  ४ : ५७ बजे