काठमाडौँ। देशभर लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भइरहेका बेला नेपाली कांग्रेसका सभापति गगन थापाले अधिवेशनका निर्वाचन कार्यक्रमभन्दा नागरिकको सुरक्षालाई प्राथमिकता दिन पार्टीका नेता(कार्यकर्तालाई आग्रह गरेका छन्।
थापाले मौसम विभाग तथा सम्बन्धित निकायले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको जानकारी दिएका छन्।
उनले अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता नागरिकको सुरक्षा रहेको बताएका छन्।
स्थानीय अवस्था बुझेर जोखिममा रहेका तथा अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न पार्टीका नेता(कार्यकर्तालाई सक्रिय हुन उनले आग्रह गरेका छन्।
‘आफ्नो(आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्नुहोस्,’ थापाले भनेका छन्।
सभापति थापाले सामाजिक सञ्जालमार्फत अपिल गर्दै प्राकृतिक विपद्का बेला पार्टीका निर्वाचन तथा संगठनात्मक गतिविधिभन्दा नागरिकको जीवनरक्षा र सहयोगलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
देशका विभिन्न क्षेत्रमा वर्षाका कारण उत्पन्न हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोगमा जुट्न पनि उनले पार्टीका नेता(कार्यकर्तालाई आग्रह गरेका छन्।










