काठमाडौं । वर्षा रोकिएसँगै बाढीपहिरोका कारण अवरुद्ध प्रमुख राजमार्ग खुलाउने तयारी तीव्र पारिएको छ। राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडकहरूमा पहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने काम बिहानैदेखि अघि बढाइने भएको छ।
बुधबारदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्गलगायत देशभरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। वर्षा कम भएसँगै सडक विभाग, प्रहरी तथा स्थानीय तहको समन्वयमा पहिरो हटाउने काम तीव्र पारिएको हो।
आइतबारदेखि वर्षा केही कम भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड खुलाएर पोखरातर्फ जाने सवारीसाधन सञ्चालनमा ल्याइएको थियो। मुग्लिन–काठमाडौं सडकखण्डमा पनि विभिन्न स्थानमा खसेका पहिरो पन्छाइएको छ। केही स्थानमा भने सडक अझै एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
यसैबीच, आइतबार साँझ धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारा क्षेत्रमा ठूलो ढुंगासहित पहिरो खसेपछि पृथ्वी राजमार्ग पुनः दुईतर्फी अवरुद्ध भएको छ। रातिको समयमा पहिरो हटाउन सम्भव नभएपछि सोमबार बिहानैदेखि उपकरण परिचालन गरी पहिरो पन्छाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार पानीधाराको पहिरो हटाएपछि काठमाडौं जोड्ने सडक पूर्ण रूपमा खुल्नेछ।
‘पानीधाराको पहिरो पन्छाएपछि काठमाडौं जाने सडक पुरै खुल्छ,’ उनले भने।
तर सडक खुलेपछि पनि धादिङको कृष्णभीर क्षेत्रको सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्ने वा नगर्ने निर्णय गरिने प्रहरीले जनाएको छ। कृष्णभीरमा पछिल्ला दिनमा पटक–पटक पहिरो खसेकाले सडकको जोखिम मूल्यांकन गरेर मात्रै यातायात सञ्चालन गरिने भएको हो।
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोरअन्तर्गत मूलघाट–फिदिम सडक, दाङ–सल्यान जोड्ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग तथा भालुबाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा पनि पहिरो खसेको छ।
ती सडकमा पनि पहिरो पन्छाउने, सडक कटान भएका ठाउँमा डाइभर्सन बनाउने तथा जोखिमयुक्त स्थानको अवस्था मूल्यांकन गर्ने काम भइरहेको सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन्।
वर्षा रोकिएसँगै देशभर अवरुद्ध सडक खुलाउने कामलाई प्राथमिकता दिइएको छ। मुख्य राजमार्गहरूमा यातायात सञ्चालनमा ल्याउन सके काठमाडौंसहित विभिन्न जिल्लामा रोकिएका सवारीसाधन तथा यात्रुको आवागमन सहज हुने अपेक्षा गरिएको छ। रासस










