काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार चीनतर्फको सीमा क्षेत्रमा रोकिएको सामान आयातका लागि स्वीकृति दिलाउने भन्दै अधिकारीले ह्वाट्सएपमार्फत सेवाग्राहीसँग घुस रकम मागेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान गर्दा अधिकारीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी अन्य व्यक्तिहरूसँगको मिलेमतोमा खाद्य आयात अनुमति तथा विभागबाट हुने सार्वजनिक सेवा सहजीकरण गरिदिने भन्दै घुस रकम माग्ने तथा लिनेदिने गरेको पुष्टि भएको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा अधिकारीसहित बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठले विभिन्न बैंक खाताको विवरण तथा क्यूआर कोडसमेत आदानप्रदान गरी घुस रकम जम्मा गर्ने गरेको खुलेको आयोगको दाबी छ।
आयोगका अनुसार अर्जुन अधिकारीको नाममा रहेको नेपाल बैंकको खातामा २५ हजार रुपैयाँ र प्रभु बैंकको खातामा १ लाख १४ हजार रुपैयाँ जम्मा गरिएको थियो।
त्यस्तै, बसन्त कुमार बस्याल क्षेत्रीको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा ८ लाख ९४ हजार ५०० रुपैयाँ, रश्मिता श्रेष्ठको नाममा रहेको ग्लोबल आईएमई बैंकको खातामा १४ लाख ९३ हजार ३७५ रुपैयाँ तथा सुरेश चौधरीको नाममा रहेको प्रभु बैंकको खातामा २ लाख ६९ हजार रुपैयाँ जम्मा भएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
यी खातामा जम्मा भएको रकमको कुल परिमाण २८ लाख २० हजार ३७५ रुपैयाँ रहेको आयोगको भनाइ छ।
आयोगले प्रतिवादीहरू अर्जुन अधिकारी, बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत कसुर गरेको दाबी गर्दै सोहीबमोजिम सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।










