काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिएर स्वदेश फर्किनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले उठाएको ‘जलवायु न्याय’को एजेण्डाले विश्व मञ्चमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको दाबी गरेका छन् ।
बुधवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री बालेन्द्र साहको सम्बोधन र आफूले विभिन्न मञ्चमा राखेका धारणाले नेपालको कुटनीतिक छवि उच्च बनाएको दाबी गरेका हून् ।
परराष्ट्रमन्त्री खनालले महासभाको दौरान जलवायु परिवर्तनले नेपालजस्ता पर्वतीय मुलुकमा पारेको असरलाई ‘हिमालयन सुनामी’को रूपमा चित्रण गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएको जानकारी दिए । विशेषगरी भोटेकोशी बाढीबाट भएको क्षतिपछि पुनर्निर्माणका लागि द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामार्फत आर्थिक तथा प्राविधिक सहयोगको आग्रह गरिएको उनको भनाइ छ ।
नेपालले अब आपत्कालीन राहतमा मात्र सीमित नभई विपद्बाट हुने क्षति न्यूनीकरणका लागि जलवायु वित्त तथा ‘लस एन्ड ड्यामेज फन्ड’ लगायतका संयन्त्रबाट स्रोत परिचालनमा जोड दिएको मन्त्री खनालले बताए ।
उहाँका अनुसार महासभाको भ्रमणका क्रममा नेपालले ग्रेनाडा, नामिबिया र सेनेगलसँग नयाँ कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १८८ पुगेको छ । विभिन्न मुलुकसँग कूटनीतिक तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको उनले जानकारी दिए ।
मन्त्री खनालले नेपालमा भएको राजनीतिक परिवर्तन, वर्तमान सरकारका नीति तथा कार्यक्रम, नेपाली नागरिकको सुशासन र समृद्धिप्रतिको आकांक्षा तथा विश्वका समसामयिक विषयमा नेपालको दृष्टिकोण अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर महासभाले दिएको बताए ।
प्रधानमन्त्री साहले महासभाको महासामान्य छलफलमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका विषय प्रभावकारी रूपमा प्रस्तुत गरेको उनको भनाइ छ ।










