दशैंमा काठमाडौंबाट ९ लाख ७५ हजारसम्म यात्रु बाहिरिन सक्ने, ६५ हजार सवारी आवश्यक



काठमाडौं । आगामी दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप व्यवस्थापन गर्न ४३ हजार ५७४ देखि ६५ हजार ३६१ सार्वजनिक सवारी साधन आवश्यक पर्ने अध्ययनले देखाएको छ।

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा गरिएको अध्ययन प्रतिवेदन बुधबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई बुझाइएको हो।

अध्ययनअनुसार यस वर्षको दशैंमा ६ लाख ५० हजारदेखि ९ लाख ७५ हजारसम्म यात्रुले उपत्यका छाड्ने प्रक्षेपण गरिएको छ। घटस्थापनादेखि नवमीसम्म यात्रुको चाप उच्च हुने र फूलपाती तथा त्यस आसपासका दिनमा सडक तथा सार्वजनिक यातायातमा अत्यधिक दबाब पर्ने प्रतिवेदनमा उल्लेख छ।

गत वर्ष ट्राफिक प्रहरीको तथ्यांकअनुसार दशैंका बेला करिब ६ लाख ११ हजार यात्रुले उपत्यका छाडेका थिए। यता, यातायात व्यवसायी महासंघको तथ्यांकमा भने यो संख्या करिब १९ लाख रहेको उल्लेख छ।

गत वर्ष दशैंका समयमा उपत्यकाबाट दैनिक औसत ८ हजार १०१ सवारी बाहिरिएका थिए। सप्तमीका दिन सबैभन्दा बढी १९ हजार ६७१ सवारी बाहिरिएको अध्ययनले देखाएको छ।

अध्ययन समितिका अनुसार समग्रमा सार्वजनिक यातायातका साधन पर्याप्त देखिए पनि क्षेत्रगत रूपमा माग र आपूर्तिबीच असन्तुलन हुँदा यात्रुले समस्या भोग्नुपर्ने अवस्था छ। सडकको अवस्था, सवारीको तालिका र ट्राफिक जामका कारण निर्धारित समयमा गन्तव्यमा पुग्न नसक्ने समस्या पनि दशैंमा देखिने गरेको प्रतिवेदनमा उल्लेख छ।

दशैंको समयमा बसपार्क तथा सडक किनारका स्टपमा यात्रुको भीड, सडक जाम, दुर्घटना, चोरी, टिकट तथा भाडामा कालोबजारी, क्षमताभन्दा बढी यात्रु बोक्ने र चालकले पर्याप्त आराम नगरी लामो समय सवारी चलाउनेजस्ता समस्या देखिने अध्ययनले औंल्याएको छ।

यस वर्ष उपत्यका ट्राफिक प्रहरीले १ हजार ३०० भन्दा बढी जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। १० स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने तथा लामो दूरीका सवारी र चालकको जाँचसहित ट्राफिक व्यवस्थापन गर्ने योजना रहेको छ।

सडक विभागले सम्भावित दुर्घटना तथा विपद्का घटनालाई ध्यानमा राख्दै १८ स्थानमा ठूला उपकरण र आपत्कालीन उद्धारका लागि जनशक्ति तयारी अवस्थामा राख्ने भएको छ। काठमाडौं महानगरपालिकाले पनि बसपार्क तथा सडक व्यवस्थापनका लागि नगर प्रहरी परिचालन गर्ने तयारी गरेको छ।

यातायात व्यवसायी महासंघले भने यस वर्ष १५ देखि १७ लाख यात्रुले उपत्यका छाड्न सक्ने अनुमान गरेको छ। त्यसअनुसार आवश्यक सवारी व्यवस्थापन, अनुगमन र निगरानीका लागि तयारी अघि बढाइएको महासंघले जनाएको छ।

अध्ययन समितिले दशैंको यात्रा सहज, सुरक्षित र व्यवस्थित बनाउन टिकट काउन्टर तथा अग्रिम टिकट बुकिङ व्यवस्थित गर्नुपर्ने सुझाव दिएको छ। त्यस्तै, सवारीको फिटनेस परीक्षण, क्षमताभन्दा बढी यात्रु तथा भार नियन्त्रण र टिकटमा हुने कालोबजारी रोक्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

लामो दूरीका सवारीका चालकले आवश्यक आराम गरेको सुनिश्चित गर्नुपर्ने तथा प्रत्येक सवारीमा प्राथमिक उपचार सामग्री र अग्नि नियन्त्रक राख्नुपर्ने सुझावसमेत दिइएको छ।

सडक विभागले सडकको अवस्थाबारे नियमित सूचना प्रवाह गर्ने तथा दुर्घटना र विपद्का क्षेत्रमा आवश्यक ठूला उपकरण र जनशक्ति तत्काल परिचालन गर्ने व्यवस्था गर्नुपर्ने अध्ययन समितिको सुझाव छ।

यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायी महासंघबीच प्रभावकारी समन्वय तथा अनुगमन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

दीर्घकालीन रूपमा यातायात क्षेत्रको तथ्यांक संकलन र प्रविधिको प्रयोगमा जोड दिनुपर्ने भन्दै समितिले स्मार्ट सवारी फिटनेस प्रणाली, डिजिटल टिकट तथा चलान र प्रभावकारी सूचना प्रवाहलाई विस्तार गर्न सुझाव दिएको छ।

प्रकाशित मिति : आश्विन १४, २०८३ बुधबार  ७ : ५२ बजे