भोटेकोशी र कालीगण्डकी करिडोर विपद् अध्ययनका लागि राष्ट्रिय सभाद्वारा विशेष समिति गठन



काठमाडौँ। भदौ र असोज महिनामा देशभर आएको विनाशकारी बाढी(पहिरो तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय सभाले ‘भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन’ गर्न नौ सदस्यीय विशेष समिति गठन गरेको छ। राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले उक्त विशेष समिति गठन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

हालै रसुवाको भोटेकोशी नदीका साथै देशका विभिन्न भागमा आएको भीषण बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि संसद्‌मा विशेष अनुगमन समितिको माग उठेको थियो। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १६७ बमोजिम गठित यस समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा रहेका छन् भने बाँकी एक सदस्य पछि मनोनीत गरिनेछ।

समितिलाई विपद् प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाको अवस्था अनुगमन गर्नुका साथै जलवायु परिवर्तनले पारेको असरबारे विस्तृत अध्ययन गरी आगामी पुस मसान्तभित्र संसद्‌मा प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ। यसका साथै विपद् जोखिम न्यूनीकरणका लागि वैज्ञानिक पूर्वसूचना प्रणालीको विकास, प्रभावित क्षेत्रको दिगो पुनर्निर्माण, जोखिमरहित बस्ती विकासको मार्गचित्र तयार पार्ने र न्यून उत्सर्जन भएर पनि उच्च जोखिममा परेको नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चमा ुजलवायु न्यायु माग गर्ने कानुनी आधारहरूबारे समेत अध्ययन गर्ने जिम्मेवारी समितिलाई सुम्पिइएको छ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार समितिले आफ्नो कार्यादेश पूरा गर्न आवश्यक कार्ययोजना बनाई प्रतिनिधिसभासँगको आवश्यक समन्वयमा कार्यसम्पादन गर्नेछ। आगामी पुस मसान्तसम्मको समयावधि पाएको यो समितिले देशमा विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि दीर्घकालीन नीतिगत सुझावहरू दिने अपेक्षा गरिएको छ

प्रकाशित मिति : आश्विन १५, २०८३ बिहीबार  ७ : ३९ बजे