काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । यही असोज १८ गतेबाट हुने पार्टीको १५औँ महाधिवेशनमा डा वलीले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
रोल्पा स्थायी घर भएका उनी रोल्पाबाट नै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन् । डा वली कांग्रेसको विधानअनुसार ३५ वर्ष मुनीका युवातर्फको केन्द्रीय सदस्यका लागि उम्मेदवार हुन् ।
नीति तथा योजना क्षेत्रका विज्ञ डा ओली नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखिका क्रियाशील सदस्य हुन् । चीनबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका उनीसँग आफ्नो विज्ञताका आधारमा यसअघि पार्टीको केन्द्रीय आर्थिक नीति तथा योजना विभाग र केन्द्रीय नीति प्रतिष्ठानमा नीति विज्ञको रूपमा रहेर काम गरेको अनुभव पनि छ ।
त्यस्तै, डा वलीले यसअघि लुम्बिनी प्रदेश योजना आयोग र संघीय मन्त्रालयका विभिन्न योजनामा विज्ञको रूपमा पनि काम गरेका छन् । अहिले पनि डा वली इनिसियटिभ फर इक्विटेबल अर्थमार्फत अध्ययन तथा अनुसन्धानमा क्रियाशील छन् ।
साथै, उनी गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि बनेका थिए ।










