काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । छन् । सहमहामन्त्री पदमा उम्मेदवारी दिने उनको घोषणले पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व दाबीलाई थप पेचिलो बनेको छ।
दोलखाबाट महाधिवेशन प्रतिनिधि चयन भएका शिवाकोटी १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्य निर्वाचित भएका थिए। त्यसपछि पार्टीको दोस्रो विशेष महाधिवेशनबाट समेत केन्द्रीय सदस्यको जिम्मेवारी पाएका उनले यसपटक पदाधिकारी तहमा आफ्नो दाबी अघि सारेका हुन्। शिवाकोटीले सहमहामन्त्रीमा आफ्नो दाबीलाई स्वाभाविक राजनीतिक वृत्तिविकासका रूपमा व्याख्या गरेका छन्।
शिवाकोटीको उम्मेदवारीको अर्को विशेषता उनको पत्रकारिताबाट राजनीतिमा आएको पृष्ठभूमि हो। करिब दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय रहेका उनी खोजमूलक र निडर पत्रकारिताका लागि परिचित थिए। हाम्राकुरा डटकमका संस्थापक निर्देशक तथा प्रधानसम्पादकसमेत रहेका उनले भ्रष्टाचार र अनियमितताका बिरुद्दमा चलाएको कलमले कतिपय अवस्थामा कांग्रेस भित्र नया उर्जा र आशा पैदा गरेको थियो ।
तत्कालीन सभामुख कृष्णबहादुर महरासँग सम्बन्धित प्रकरण तथा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको ७० करोड रुपैयाँसम्बन्धी प्रकरणको समाचार सम्प्रेषणपछि उनी राष्ट्रिय चर्चामा आएका थिए। पत्रकारिताकै क्रममा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाका विषयमा समेत उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।
नेपाल प्रेस युनियनको महासचिवको जिम्मेवारी सम्हालेपछि उनी कांग्रेसको मूलधारको राजनीतिमा थप सक्रिय भएका थिए। २०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि उनको राजनीतिक भूमिका अझ प्रत्यक्ष बनेको थियो।
केन्द्रीय सदस्यका रूपमा उनले कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको नेतृत्वसमेत सम्हाले। पार्टीको इतिहास, दस्तावेज र लोकतान्त्रिक आन्दोलनसँग सम्बन्धित सामग्री संरक्षणलाई प्राथमिकता दिएका उनले विभिन्न पुस्तक तथा दस्तावेज संकलनको काम अघि बढाएका थिए। पार्टी कार्यालयमा भएको आगलागीबाट ऐतिहासिक सामग्री नष्ट भएपछि दस्तावेज संरक्षणको आवश्यकता अझ महत्वपूर्ण बनेको उनको बुझाइ छ।
शिवाकोटीको राजनीतिक पहिचान भने केवल संगठनात्मक गतिविधिमा सीमित छैन। पार्टी नेतृत्वले गलत बाटो लिएमा सार्वजनिक रूपमा प्रश्न उठाउने र कांग्रेसलाई नयाँ पुस्ताको अपेक्षाअनुसार रूपान्तरण गर्नुपर्ने धारणा राख्दै आएका उनी पछिल्लो समय सभापति गगनकुमार थापासँग विचारगत रूपमा नजिक देखिने युवा नेतामध्ये एकका रूपमा पनि चर्चामा छन्।
विशेषगरी जेन–जी पुस्तासँग कांग्रेसको सम्बन्ध विस्तार गर्नुपर्ने, युवाको असन्तुष्टि र अपेक्षालाई पार्टीले सम्बोधन गर्नुपर्ने तथा कांग्रेसलाई परम्परागत राजनीतिक संरचनाभन्दा बाहिर नयाँ पुस्तासँग जोड्नुपर्ने विषयमा उनले सार्वजनिक रूपमा आवाज उठाउँदै आएका छन्।
यही पृष्ठभूमिमा उनको सहमहामन्त्रीको दाबीलाई केवल पद प्राप्तिको प्रयासभन्दा पनि पत्रकारिता, युवा राजनीति र संगठनात्मक अनुभवलाई पदाधिकारी तहमा लैजाने प्रयासका रूपमा हेरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भइरहेका बेला पदाधिकारीमा शिवाकोटीको दाबीले पार्टीभित्र नयाँ पुस्ताको प्राभाबशालि काम र बेथिति बिरुद्दको जुझारु प्रयास नेतृत्वमा पुग्ने अधार बन्छ कि बन्दैन भन्ने परिक्षा पनि हो ।
केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन सोमबार हुने कार्यतालिका रहेको छ।










