काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ ऐतिहासिक महाधिवेशन केवल पद र नेतृत्व व्यवस्थापन गर्ने माध्यम नभई आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको थलो बन्नुपर्ने बताएकी छन् ।
काठमाडौंको खुलामञ्चमा आइतबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भुसालले जनतामाझ गुम्दै गएको विश्वास फर्काउन र नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न कांग्रेसले निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘यो अधिवेशन एउटा भेला हैन, यो अधिवेशन ०७ सालदेखी लोकतन्त्रको लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलोको रूपमा यो महाधिवेशन गर्न गइरहेका छौँ।’
भूसालले महाधिवेशन केवल पद व्यवस्थापनका लागि नभएको बताउँदै लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलोका रूपमा विकास गर्नुपर्ने धारणा राखिन्।
उनले भनिन्, ‘यो महाधिवेशन नेपाली कांग्रेसका नेता र कार्यकर्ता मात्रै हैन, लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने, नेपाली कांग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलोको रूपमा बन्नुपर्दछ।’










