काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र मात्र नभई समग्र नेपाली राजनीतिमा देखिएको राजनीतिक संस्कृतिको क्षयलाई सुधार गर्दै समयानुकूल रूपान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत आफ्नो प्रतिवेदनमा शर्माले लोकतान्त्रिक संस्कृति बलियो बनाउन कांग्रेसले आफ्नै कमजोरीप्रति आत्मालोचना गर्दै व्यवहारबाट सुधारको सुरुवात गर्नुपर्ने बताएका छन् ।
शर्माले निर्वाचन हुनु र निर्वाचनबाट सरकार चयन हुनुलाई मात्र उन्नत लोकतन्त्रको मापदण्ड मान्न नसकिने उल्लेख गरेका छन् । कानुन, विधि र संस्थाको मर्यादा कायम राख्दै न्यायपालिका, व्यवस्थापिका र स्वतन्त्र प्रेसको सम्मान गर्नुपर्ने उनको भनाइ छ । लोकतान्त्रिक संस्कृति कमजोर भए लोकतन्त्र केवल औपचारिक प्रक्रिया र ‘साइन बोर्ड’मा सीमित हुने चेतावनी पनि उनले दिएका छन् ।
उनले लोकतन्त्रको केन्द्रमा ‘मान्छेको मूल्य’ स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । नागरिकले उठाएका प्रश्न सुनिनु र त्यसको सुनुवाइ हुनु नै लोकतन्त्रको महत्वपूर्ण परीक्षण भएको उल्लेख गर्दै शर्माले नागरिकको सम्मान र संवेदनशीलतालाई राजनीतिको केन्द्रमा राख्नुपर्ने बताएका छन् ।










