दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला



काठमाडौ. । दसैँतिहारलाई लक्षित गर्दै लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ ।

टिकट बुकिङ खुल्नुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लामो लाइन लागेको छ ।

नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका अनुसार बझाङ, बाजुरा र धनगढी जाने यात्रु हिजो राति ९ बजेदेखि नै टिकट लिन लाइनमा बसेका थिए । यात्रुको चापलाई ध्यानमा राख्दै बसपार्कमा १५ वटा टिकट काउन्टर थप गरिएको छ । यस्तै, फूलपातीदेखि पूर्णिमासम्म लामो तथा मध्यम दूरीका सवारीसाधन र रिजर्भ गाडीलाई देशभर सञ्चालन गर्न रुट अनुमति खुला गरिने भएको छ ।

चाडपर्वमा यात्रुलाई ठगीबाट जोगाउन प्रमुख नाका तथा बसपार्कमा सहायता कक्ष राखिने भएको छ । यातायात व्यवसायीले चाडपर्वका समयमा भाडा नबढाई पूर्वनिर्धारित दरमै सेवा दिने प्रतिबद्धता जनाएका छन् ।
वर्षा र प्राकृतिक प्रकोपका कारण सडक बिग्रिएकाले जोखिमपूर्ण अवस्थामा सवारी नचलाउन चालकहरूलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : आश्विन २३, २०८३ शुक्रबार  ८ : २० बजे