महामन्त्रीमा पौडेल र राणा विजयी,उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य



काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार उपसभापतिमा डा। चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन् । त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित भएका छन् ।

उपसभापतिको खुलातर्फ दुई जना विजयी भएका हुन् । भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गर्दै विजयी भए । दोस्रो स्थानका आचार्यले २ हजार ३४२ मत प्राप्त गरी विजयी भए ।

उपसभापतिको प्रतिस्पर्धामा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा। डा। चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

समावेशी उपसभापतिमा विनोद चौधरी

समावेशीतर्फ उपसभापतिको एक पदमा विनोदकुमार चौधरी विजयी भएका छन् । उनले १ हजार ७४५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाए ।

त्यस्तै फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा

महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल सर्वाधिक मतसहित विजयी भएका छन् । उनले ४ हजार १९४ मत प्राप्त गरेका छन् । अर्का विजयी उम्मेदवार उदय शमशेर राणाले २ हजार ३३० मत प्राप्त गरेका छन् ।

महामन्त्रीका प्रतिस्पर्धी डा। सुनीलकुमार शर्माले २ हजार २५७ मत प्राप्त गरेका छन् । त्यस्तै गुरुराज घिमिरेले १ हजार ५१३, अमरसिंह पुन मगरले १ हजार १२५, नैनसिंह महरले १ हजार १३४, शंकर तिवारीले १२३ र डा। सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।

खुलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा पौडेल र राणाले अन्य उम्मेदवारलाई पछि पार्दै स्थान सुरक्षित गरेका हुन् । पौडेलले निकटतम प्रतिस्पर्धी राणाभन्दा १ हजार ८६४ मत बढी प्राप्त गरेका छन् ।

महिला महामन्त्रीमा डिला

महिला महामन्त्रीमा डा। डिला संग्रौला ९पन्त० विजयी भएकी छिन् । उनले तीन हजार ११८ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ९डिना० ले दुई हजार ८६४ मत ल्याइन् । तेस्रो भएकी रीता खनालले ८०४ मत ल्याइन् ।

प्रकाशित मिति : आश्विन २६, २०८३ सोमबार  ७ : ५६ बजे