शुक्र अस्त हुँदै : टीका र जमरा लगाउन बाधा नपर्ने, अरु कुन कुन काम गर्न हुँदैन ?



काठमाडौं । आज बुधबार दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछन् । शुक्र ग्रह आगामी कात्तिक ११ गते बुधबार राति १२ बजेर ४९ मिनेटमा पूर्व दिशामा उदय हुनेछन् ।

शुक्र अस्तको अवधि बडादसैँसँग पर्ने भए पनि दसैँको पूजाआजा गर्न, टीका र जमरा लगाउन कुनै बाधा नपर्ने जनाइएको छ ।

ज्योतिष शास्त्रीय मान्यताअनुसार सूर्यसँग १० डिग्रीभन्दा कम कोणमा आएपछि ग्रह अस्त हुन्छ । शुक्र ग्रहलाई धन, ज्ञान, विवाह, प्रेम, विलासिता तथा शुभ कार्यको कारक मानिन्छ। त्यसैले शुक्र अस्त हुँदा नयाँ तथा माङ्गलिक कार्य गर्न नहुने धार्मिक मान्यता छ ।

शास्त्रीय मान्यताअनुसार शुक्र अस्त हुनुभन्दा तीन दिनअघिदेखि र उदय भएको तीन दिनपछिसम्म शुभ कार्य गर्न नहुने उल्लेख छ। तर, यस अवधिमा नित्य तथा नैमित्तिक कर्म गर्न भने रोकतोक हुँदैन ।

शुक्र अस्तको अवधिमा स्नान, सन्ध्या, पाञ्चायन पूजा, तुलसी पूजा, श्राद्ध, तर्पणलगायत धार्मिक कार्य गर्न सकिने बताइएको छ । यसैगरी बडादसैँका अवसरमा गरिने देवी पूजा, फूलपाती, महाअष्टमी, महानवमी, विजयादशमी, सप्तशती चण्डी पाठ, हातहतियार पूजा तथा देवी विसर्जन गर्न पनि बाधा नपर्ने उल्लेख छ । दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्नसमेत शास्त्रीय बाधा नरहेको जनाइएको छ ।

यद्यपि, शुक्र अस्तको अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेश, नयाँ घर निर्माणको सुरुवात, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा, कर्णवेध तथा अन्य नयाँ माङ्गलिक कार्य गर्न शास्त्रले निषेध गरेको छ ।

त्यस्तै, नयाँ तीर्थयात्रा, दीक्षा ग्रहण, सन्न्यास व्रत, राज्याभिषेकलगायत कार्य पनि यस अवधिमा गर्न नहुने धार्मिक मान्यता छ । ज्योतिष शास्त्रमा शुक्रलाई सवारीसाधन तथा विलासिताको कारक मानिने भएकाले यस अवधिमा नयाँ सवारीसाधन खरिद–बिक्री नगर्नु उपयुक्त हुने मान्यता पनि छ ।

यसरी शुक्र अस्तको अवधिमा नयाँ माङ्गलिक कार्य नगर्न भनिए पनि दसैँका नियमित धार्मिक विधि, नवदुर्गाको पूजा तथा विजयादशमीमा टीका–जमरा ग्रहण गर्न बाधा नपर्ने धार्मिक मान्यता रहेको छ ।

प्रकाशित मिति : आश्विन २८, २०८३ बुधबार  १० : ३६ बजे