काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया रोकिएको छ। स्वार्थको द्वन्द्व, म्यानपावर व्यवसायीसँगको सम्बन्ध र पोखराको जग्गा खरिदमा अनियमितताको विषय उठेपछि सुनुवाइ समितिले प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा समिति सदस्यहरूले प्रस्तावित राजदूत खरेलसँग सम्बन्धित विभिन्न विषय उठाएका थिए । उनीमाथि स्वार्थको द्वन्द्व, म्यानपावर व्यवसायीसँगको सम्बन्ध तथा पोखराको जग्गा खरिदमा भएको भनिएको अनियमिततासम्बन्धी प्रश्न उठाइएको थियो ।
समिति सभापति बोधनारायण श्रेष्ठले प्राप्त उजुरीहरूको अध्ययन गर्न थप समय आवश्यक रहेको भन्दै सुनुवाइ प्रक्रिया तत्कालका लागि रोकिएको जानकारी गराए ।
उजुरीमाथि थप अध्ययन गर्नुपर्ने भएपछि खरेलको सुनुवाइ ‘होल्ड’ गरिएको हो । सुनुवाइबाट बाहिरिएपछि समिति सदस्यहरू प्रस्तावित राजदूतसँग सम्बन्धित विषयमा आन्तरिक छलफलमा जुटेका छन् ।
समितिमा उठेका विषय र प्राप्त उजुरीको अध्ययनपछि प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रियाले थप गति लिने वा नलिने विषय टुंगो लाग्नेछ ।










