बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै



काठमाडौं,असोज २९ । बडादशैँ अन्तरगत नवरात्रको पाँचौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडा दशैं पर्व मनाउँछन्।

प्रकाशित मिति : आश्विन २९, २०८३ बिहीबार  ८ : ०० बजे