जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिकरुपमा आजदेखि सुरु भएको छ ।
पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि मनाइँदैछ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई–मधेसको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिँगारेर पूजाको तयारी पूरा गरिएको हो । पोखरी नै पोखरीको सहरका रूपमा चिनिएको जनकपुरधामका पोखरीमा छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लबले टेन्ट र पण्डाल लगाएको राम युवा समिति अध्यक्ष परमेश्वर साहले बताए । जनकपुरधामको गङ्गासागर पोखरीका अतिरिक्त धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई स्थानीय युवा क्लबले सजाएका छन् । जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठले छठका अवसरमा जनकपुरधाममा सरसफाइ अभियान सुरु गरिएको बताए । महासेठले छठ पर्वका अवसरमा जनकपुरमा व्यापारिक चलहपहलसमेत बढेको बताए ।
तयसैगरि राजधानीका विभिन्न स्थानमा छठ घाट निर्माण गरी सूर्य आराधना एवं उपासनाको तयारी भएको छ । पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट निर्माण भइरहेको छ । गुह्येश्वरीमा भक्तजनले २०४६ सालदेखि नै छठ मनाउन थालेका थिए । यसलाई विसं २०६२ मा छठ पूजा समिति गुह्येश्वरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी औपचारिकता दिइएको अध्यक्ष अनिल सिंह बताउछन् ।
गुह्येश्वरीमा पाँच सय जना बर्तालुले पूजा आराधना गर्न सक्नेगरी छठ घाट निर्माण भइरहेको छ । गुह्येश्वरी क्षेत्रमा बर्तालुलाई सहयोग गर्ने र परबाटै दर्शन गर्ने गरी तीन लाखदेखि पाँच लाखसम्म मान्छे आउने अनुमान समितिले गरेको छ । छठको विधि सुरु हुने दिन आज गुह्येश्वरी क्षेत्रमा छठ घाट एवं वाग्मती नदी सफाइ गरिएको छ । छठ घाटमा पाल, टेण्ट राख्ने काम पनि भइरहेको छ । एउटा घाट रु एक हजार पाँच सय शुल्क लिएर भक्तजनका लागि बुकिङ भइरहेको छ ।
तयसैगरि राजधानीको कमलपोखरी छठ पूजा समाजले भने छठ घाट बनाएर भक्तजनलाई निःशुल्क उपलब्ध गराउने भएको छ । समाजका अध्यक्ष राजेन्द्र सिंहले कमलपोखरीमा एक सय ७५ वटा छठ घाट बनाउने तयारी गरेको बताए । यी सबै छठ घाट बर्तालुलाई निःशुल्क दिने तयारी गरिएको छ ।
कमलपोखरीको चारैतिर टेन्ट राखेर भक्तजनलाई सहजरुपमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था गर्न लागिएको छ । टेन्टसँगै कमलपोखरीलाई झिलीमिली बत्तीले ढाकेर सजाइने भएको छ । यस वर्ष कमलपोखरीमा छठी माईको माटाको मूर्ति अनावरण गरिने भएको छ । मूर्तिलाई छठ पूजा सकिएपछि नदी, ताल, तलाउलगायत पवित्रस्थलमा लगी सेलाउने विधि रहेको छ ।









