कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा ९एमाले०का नरबहादुर धामीबीचमा नै प्रतिस्पर्धा हुने भएको छ। लोकतान्त्रिक(वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरेका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ।
गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन्। उनले विकास निर्माणका कुरालाई चुनावी मुद्दाका रूपमा अघि सारेका छन्। चुनावी प्रचारका क्रममा उनी आफूले सांसद नभएर पनि गरेको विकासका चर्चा सुनाउन पछि पर्दैनन्। उनले सिँचाइमन्त्री भएर कार्य गरिसकेका छन्।
“विगतका निर्वाचनमा एमाले र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन हुँदा २४ हजार बढी मत ल्याएर पनि जित्न सकेनौँ”, उनले भने, “यसपटक गठबन्धन भएकाले माओवादी केन्द्रको मत जुटे जित सम्भव छ।” दुवै पार्टीबीचका विगतका कटुताका कुरा इतिहास भइसकेकाले गठबन्धनको मर्मअनुसार मत पाउनेमा उनी विश्वस्त छन्।
एमालेका पाँच वर्षअघि चुनावमा विजयी भएका उम्मेदवारले विकासका नाममा सिन्कोसमेत भाँच्न नसकेको उनको आरोप छ। “पाँच वर्षअघि मैले सुरु गरेका योजनासमेत पूरा हुनसकेका छैनन्”, उनले भने, “सांसद नभएर पनि तटबन्ध निर्माणका लागि रु १० करोडका योजना चालु आवमै ल्याएको छु।”
जनताले पत्याउने गरी काम गरिरहेको उनको भनाइ छ। साउद र धामी विद्यार्थी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेर पहिचान बनाउन सफल भएका हुन्। दुवै जना यस निर्वाचन क्षेत्रका सशक्त प्रतिस्पर्धीका रूपमा छन्।
एमालेका तर्फबाट चुनावी मैदानमा रहेका धामीको मतदाताबीच फरक किसिमको पहिचान छ। स्पष्ट वक्ताका रूपमा परिचित रहेका उनी यस क्षेत्रको विकास निर्माण, निकुञ्ज विस्थापित, सुकुम्बासीका मुद्दा संसद्मा बारम्बार उठाउनेमा पर्छन्। शुक्लाफाँटा प्राविधिक शिक्षालय स्थापना, सडक कालोपत्र, तटबन्ध निर्माणलगायतका विकासका मुद्दालाई उनले चुनावीसभामा सुनाउँदै आएका छन्।
स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा तीनवटै पालिकामा कांग्रेसले २२ हजार चार सय ९९, एमालेले १९ हजार दुई सय ९२, माओवादी केन्द्रले १३ हजार चार सय ७८, नेकपा ९एकीकृत समाजवादी०ले चार हजार छ सय ६७, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार सात सय ४६ मत ल्याएका थिए ।सत्तारुढ गठबन्धन कांग्रेस, माओवादी, समाजवादीले ५२ हजार दुई सय १२ र एमाले सम्मिलित गठबन्धनले २१ हजार दुई सय ४२ मत ल्याएका थिए।
स्थानीय तहको मतपरिणामलाई नियाल्दा केही मत तलमाथि भए पनि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार सहजरूपमा विजयी हुने कांग्रेस निर्वाचन क्षेत्र नं २ का सभापति लालबहादुर सिंह बताउँछन्।
निर्वाचन क्षेत्र नं २ मा एक लाख पाँच हजार पाँच सय ५७ मतदाता र एक सय १८ मतदान केन्द्र छन्।










