कांग्रेस नेता राजेन्द्र बजगाईंको समन्वयमा गोरखाको धार्चेका सिकिस्त बिरामिको हेलिकोप्टरबाट उद्दार



मंगलबार, कार्तिक १५ , गोरखा । गोरखाको धार्चे गाउँपालिका(३ उहियाका एक बिरामीलाइ कांग्रेस नेता एबं गोरखा २ बाट प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र बजगाईंको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको छ। नाक र मुखबाट रगत बगेर बिरामी भएका ६३ वर्षिय पूर्णबहादुर घलेको अन्नपूर्ण हेलिकप्टर सर्भिसमार्फत मंगलबार उद्धार गरिएको उनका आफन्त श्रीलाल गुरुङले जानकारी दिए।

सिकिस्त बिरामि परेका ६३ वर्षीय पूर्णबहादुर घलेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो ।

‘बिहानैदेखि हेलिकप्टर खोज्यौँ, हामीले मगाउन सकेनौँ’ उनले भने ‘गोरखा २ बाट प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र बजगाईंलाई फोन गर्‍यौँ, उहाँले हेलिकप्टर कम्पनी सँग समन्वय गरिदिनुभयो, अनि हेलिकप्टर आयो।’ ‘यस अघि पनि यहाँ हेलिकप्टर चाँहिदा हामीले मगाउन नसक्दा उहाँलाई फोन गर्ने गरेका थियौँ, उहाँको समन्वयमा उद्धार, उपचारमा सहज भएको छ’ श्रीलाल गुरुङले भने ।

हेलिकप्टर खोज्न नसकेपछि उहियाबाट पाँच घण्टा पैदल बिरामीलाई बोकेर खोर्लाबेसी ल्याइएको थियो। खोर्लाबेसी सम्म ल्याउँदा रगत बग्ने क्रम नरोकिएको र झनै बिरामी सिकिस्त हुन लागेपछि हेलिकप्टरका लागि हारगुहार गरिएको उनले बताए।

उत्तरी गोरखाको धार्चे र चुमनुब्रीका सबै गाउँ सडक सञ्जालले जोडिएको छैन। दुर्गम भेगमा सुत्केरी, गर्भवती, गम्भिर घाईतेको उद्धारमा पर्यटन ब्यवशायी एवं समाजसेवी राजेन्द्र बजगाईले हेलिकप्टर छिटो खोजिदिने र सहज उद्धारमा सहयोग गर्दै आएको स्थानीय बताउँछन्।

पर्यटन ब्यवसायीसमेत रहेका कांग्रेस नेता यसअघिसमेत उत्तरी गोरखामा विपत परेका बेला हेलिकोप्टरमार्फत उद्दार र सहयोग गर्दै आएका छन् । गोरखामा उनले यसअघिदेखिनै सामाजिक कामलाइ प्राथमिकतामा राखेका छन् ।

प्रकाशित मिति : कार्तिक १५, २०७९ मंगलबार  ७ : २७ बजे