प्रधानमन्त्री ओलीविरुद्ध विराटनगरका युवाद्वारा नारबाजी



विराटनगर चैत, २६– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा नारबाजी भएको छ । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका युवाहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन बन्द गरेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । महेन्द्रचोकमा जम्मा भएका युवाहरुले केपी ओली मुर्दाबाद, गृहमन्त्री, राजीनामा दे लगायतका नारा लगाएका हुन् ।

गृह मन्त्रालयले हालै मात्र जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन परिपत्र गरेको थियो । त्यसआधारमा स्थानीय प्रशासनले नागरिकता दिन थालेको थियो । आइतबार सर्वोच्चले अन्तरिम आदेश दिँदै तत्कालका लागि गृहको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार  ६ : १४ बजे