पोखरा चैत, २८–
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार मूलुकमा जनवादी केन्द्रीयता लागू गर्न उद्दत रहेको आरोप लगाएका छन् । नेता सिंहले सरकारको जनविरोधी गतिविधिविरुद्ध चनाखो भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । बिहिबार पोखरामा भैरहेको कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिंहले सरकारका हरेक क्रियाकलाप मुलुकको हितविपरित भएको भन्दै भ्रष्टाचारमा लिप्त सरकारकाविरुद्ध सशक्त रुपमा प्रतिवाद गर्नुपर्नेमा जोड दिए । नेता सिंहले पार्टीलाई आर्थिक गतिविधि पारदर्शी बनाउनुपर्ने भन्दै आर्थिक गतिविधि पारदर्शी भएमा जनमानसमा समेत पार्टीको सकारात्मक प्रभाव पर्ने प्रष्ट पारे । उनले सरकारका हरेक निर्णय संविधानको मर्म र भावनाविपरित हुँदै गएको आरोप लगाएका छन् । कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले भने, ‘सरकार विधि र प्रक्रियालाई लत्याएर अगाडि बढिरहेको छ । दुई तिहाईको दम्भमा सरकार मनोमानी किसिमले चलिरहेको छ । यसलाई कांग्रेसले टुलुटुलु हेरर बस्दैन ।’ इतिहास बोकेको कांग्रेस पार्टीप्रति जनताको आर्कषण कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै नेता सिंहले जनताको भरोसा कम हुनुको कारण खोज्न जिल्ला कोषाध्यक्षहरुलाई आग्रह गरे ।
चैत्र २८, २०७५ बिहीबार
0
Shares