काठमाडौं, ४ माघ । जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ । अध्यक्ष राउतले शासक वर्गालाई पश्चगामी चरम नश्लवादीहरुको झुण्डको संज्ञा दिएका छन् । उनले शासक वर्गले जसपा, लोसपा, जनमत र नाउपा सबैलाई पाखा लगाएको भन्दै गम्भीर आक्रोश पोखेका छन् । उनले शासक वर्गले अहिले मधेशी र थारुलाई राज्यबाटै बहिष्करण गरेर हेपेको आरोप लगाएका छन् ।
उनले मधेशले शासक वर्गको उक्त कदमको प्रतिकार गर्ने पनि चेतावनी दिएका छन् । उनले आफूहरुसँग सडक र आन्दोलनको विकल्प सधैं खुल्ला नै रहेको पनि उल्लेख गरेका छन् ।
मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले यी साना दललाई वास्ता नगरेको र मन्त्रालय रोज्न लगाउँदा पनि बेवास्ता गरेको भन्दै जनमत पार्टी असन्तुष्ट छ । यही सन्दर्भमा राउतको यस्तो भनाई बाहिर आएको हो ।














