मलेसियालाइ नेपालले १० विकेटले हरायो



फाल्गुन १६ काठमाडौँ – यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार चौथो खेलमा जित निकालेको छ। नेपालले मंगलबार भएको खेलमा मलेसियालाई १० विकेटले पराजित गरेको हो । योसँगै आगामी वर्ष श्रीलंकामा हुने विश्वकप खेल्ने नेपालको सम्भावना बलियो भएको छ ।

मंगलबार मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरमै विकेट नगुमाइ पार गर्‍यो। नेपालको जितमा दीपक बोहराले नटआउट ३८ रन र अर्जुन कुमालले नटआउट २१ रन जोडे। बोहराले २९ बलमा ८ चौका र कुमालले २५ बलमा ३ चौका हिर्काए।

त्यसअघि युएईको मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ३५।३ ओभरमा ७२ रनमा अलआउट गरेको थियो।

मलेसियाका लागि अक्रम मालेकले २६ रन जोड्दा हाइरिल हरिसन र मोहमद साहिरले १२र१२ रन जोडे। मलेसियाका अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। बलिङमा नेपालका दिपेश कडेँलले ४ विकेट लिए। उनले १० ओभरमा ११ रन खर्चिए। आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहराले २ विकेट र सुवास भण्डारीले १ विकेट लिए।

यसअघि सोमबार हङकङलाई ९ विकेटले हराएको पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २४३ रनले पराजित गरेको थियो। नेपालले आफ्नो अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ। युएईलाई पराजित गरे नेपालले सन् २०१६ पछि पहिलो पटक यू–१९ विश्वकप खेल्नेछ।

प्रकाशित मिति : फाल्गुन १६, २०७९ मंगलबार  २ : ४७ बजे