पुस १० को कोर्ष करेक्सन गर्‍यौँ, अब नयाँ राजनीतिक समझदारीमा अघि बढ्छौँ :कांग्रेस नेता बस्नेत



काठमाडौं, फागुन १८ गते । नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले पुस १० गतेको राजनीतिक कोर्ष करेक्सन भइसकेकाले अब नयाँ समझदारीका साथ दलहरू अघि बढ्ने बताएका छन् ।

पूर्वमन्त्री बस्नेतले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको आठ दलीय गठबन्धनबीचको राजनीतिक समझदारीले देशलाई निकास दिने बताएका छन् ।

उनले राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको बताउँदै सम्हालिएर अघि बढ्नका लागि उत्साह राख्नुपर्ने र राजनीतिक निकासका लागि उच्च सुझबुझ राख्नुपर्ने बेला आएको भनाइ राखेका छन् ।

‘कांग्रेस पार्टी र सभापति शेरबहादुर देउवाजीले दूरदर्शिता राख्नुभयो, हामीले राजनीतिक निकासका लागि दिशानिर्देश गर्ने, संवाद गर्ने र देशको अहिलेको आवश्यकतालाई बोध गरेर रुपान्तरणको बाटोमा अघि बढ्न प्रेरित गरेपछि अब देशले निकास पाउने आशा जागेको हो,’ उनले भने ।

पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सम्बोधनका क्रममा पहिलेका त्रुटी सच्याएर जाने, संविधानको अक्षरसः पालना पर्ने र सबैलाई मिलाएर अघि बढ्र्ने प्रतिवद्धता व्यक्त गरेपछि कांग्रेसले सहकार्यको प्रस्ताव अघि बढाएको बताए । ‘प्रधानमन्त्रीजीले सरकार राम्रोसँग चलाउछु र विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउने संकल्प गर्नुभयो । बिना स्वार्थ काम गर्छु भन्ने उहाँको अभिव्यक्तिको आधारमा मैले संवादको थालनी गरेको हुँ,’ उनले भने ।

उनले सरकार गठनपछि एमालेको गतिविधि त्यति राम्रो नभएको आरोप लगाए । राप्रपा र रास्वपालाई राम्रा मन्त्रालय जिम्मा लगाउने र अस्थिरतामार्फत फेरि कुनै पनि बेला चुनाव हुने अवस्था आउन सक्ने वातावरण बन्दैपछि कांग्रेसले चुनावी गठबन्धन ब्यूत्याउन प्रयास थालेको उनको भनाइ छ । ‘प्रधानमन्त्रीजीले एमाले नेताको घरमा दिनैपिच्छे जानुपर्ने अवस्था आयो । कांग्रेसभित्र संविधानको रक्षाका लागि, राजनीतिक स्थिरताका लागि, विकासका लागि कांग्रेसले अग्रसरता दिनैपर्छ भन्ने बहस सुरु भयो ।’

कांग्रेस केन्द्रीय सदस्य बस्नेतले कांग्रेसको त्यही अग्रसरताका कारण पाँच दलीय गठबन्धन ब्यूतिएको बताए । सुरुआतमा माओवादी उपमहासचिव वर्षमान पुन अनन्तसँग संवाद गरेको बताउँदै नेता बस्नेतले त्यसपछि क्रमशः सहकार्यमा पुगेको जानकारी दिए । उनले नयाँ राजनीतिक अध्याय सुरु भएको बताउँदै यसमा सत्ता स्वार्थ नरहेको दावी गरे । ‘राजनीतिक निकास र दलहरूबीचको सहकार्यलाई जीवन्त राख्न हामी सहकार्यमा पुगेका हौँ,’ उनले भने ।

बस्नेतले पार्टीभित्रकै केही नेताका कारण गठबन्धन भत्किए पनि अन्ततः पुनर्मिलन भएको बताए । ‘कांग्रेसकै केही वार्ताकारहरूले राजनीतिक सुझबुझ राख्नसक्नुभएन । वार्ताकारहरूले जिम्मेवारी निभाउन सक्नुभएन । आउन सक्ने परिस्थितिजन्य क्रियाकलापहरू बुझ्न सक्नुभएन । सरकार बनाउने परिस्थिति रोकियो । र, अर्को परिस्थिति बन्यो, अहिले आएर त्यो अवस्था करेक्सन भइसकेको छ,’ उनले भने ।

पाँच दलीय गठबन्धन व्यूत्याउनेमध्ये एक सूत्राधार नेता बस्नेतले विगतमा संविधान र लोकतन्त्रको रक्षार्थ लडेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी पार्टीहरूबीच एकठाउँमा आउने वातावरण बनेपछि अब राजनीतिक उपलब्धीहरूको रक्षा गर्दै देशलाई विकास र समुन्नतिको बाटोमा अघि बढाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  ७ : ५० बजे