भक्तपुर, २० चैत । यही चैत २७ गतेदेखि भक्तपुरमा सुरु हुने बिस्काः अर्थात् बिस्केट जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा जात्रासँग सरोकार राख्ने सम्पूर्ण निकायकाबीच भएको छलफलमा जात्रा शान्तिपूर्ण, व्यवस्थित, भव्य र सभ्यरूपलमा सम्पन्न गर्ने सहमति भएको हो ।
हरेक वर्ष रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुने, अनावश्यक मानिसले हुलहुज्जत गर्ने, रथबाट खसेर वा रथको टायरमा च्यापिएर मृत्यु हुनेलगायत घटनाले ऐतिहासिक जात्राको महत्वमाथि नै प्रश्न चिन्ह उठ्न थालेपछि यसवर्ष जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गराउन सबै सरोकार निकाय लाग्ने भएका हुन् । जात्राको पहिलो दिन चैत २७ गते भैरवको रथमा पूजा दिउँसो १ बजेसम्म गरी रथ तान्ने र अपरान्ह ५ बजेसम्म सम्पन्न गर्नुपर्ने कार्यतालिका बनाइएको छ ।
छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जात्रालाई व्यवस्थित र मर्यादितरूपले सम्पन्न गर्न नगरपालिकाले आवश्यक तयारी गरेको बताए । उनले सरोकारवाला अन्य निकाय तथा पदाधिकारीले पनि आ–आफ्ना जिम्मेवारी समयमै इमान्दारिपूर्वक पूरा गर्नु पर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्राले भक्तपुरलाई मात्र नभइ नेपाललाई नै अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने भएकाले यसलाई यसवर्ष शान्तिपूर्ण, अनुशासित र भव्य रुपले सम्पन्न गरी उदाहरण प्रस्तुत गर्नुपर्ने बताए । यस जात्राका बारेमा विगत वर्षमा हुँदै आएका गलत धारणालाई चिर्दै भक्तपुरको शान र गौरवका लागि पनि सरोकारवाला सबै पक्षलाई सहयोग गर्न उनले आह्वान गरे । जिल्ला सुरक्षा समिति र प्रशासनिक तवरले गर्नुपर्ने सबै तयारी समयमै पूरा गरिने बताउँदै प्रजिअ रिजालले गुठी संस्थानको शाखा कार्यालयलाई गुणस्तरीय सामग्री समयमै उपलब्ध गराएर जात्रा समयमै सुरु गर्न र साँझ नपर्दै सम्पन्न गर्न निर्देशन पनि दिए।
भक्तपुर प्रहरी परिसर, नेपाली सेनाको इन्द्रबक्स गण, राष्ट्रिय अनुन्धान विभागको कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल रेड्क्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति, जात्राका नाइके, पूजारी र स्थानीय युवा क्लबका प्रतिनिधिलगायतले आ–आफ्नो तर्फबाट भएका तयारी र जात्रा व्यवस्थापनका सम्बन्धमा सुझाव प्रस्तुत गरेका थिए ।









