पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण



गण्डकी, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक आज बिहान अन्तर्राष्ट्रिय जहाज अवतरण भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान गरेको हो ।

सिचुआन एयरलाइन्सको एयरबस ए(३१९ जहाज आज बिहान ९ः०६ बजे  अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विष्णुअधिकारीले जानकारी दिए ।

उक्त जहाजबाट चीन भ्रमणमा जानुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डशिप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आएका हुन् । 

पहिलो अन्तर्राष्ट्रिय उडानबाट ओर्लेका यात्रुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरे । 

उक्त जहाजबाट पोखरा आएका चिनियाँ सरकारी अधिकारी, खेलाडी र पर्यटकसहितको टोलीको स्वागतार्थ सङ्क्षिप्त समारोह आयोजना गरिएको थियो । उक्त जहाज आजै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कने छ । 

पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गतेदेखि सञ्चालित उक्त विमानस्थलबाट यसअघि आन्तरिक उडान मात्रै हुँदै आएको थियो ।

प्रकाशित मिति : असार ६, २०८० बुधबार  १ : ४९ बजे