काठमाडौं, १६ असोज । चीनको होङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा यशस्वी जयसवालको शतकप्रेरित भारतले नेपालविरुद्ध २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी क्वार्टरफाइनलमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रनको योगफल बनायो ।भारतबाट शतक बनाएका यशस्वी ४९ बलमा आठ चौका र सात छक्कासहित १०० रन बनाएर आउट भए । ट्वान्टी–२० क्रिकेटमा यशस्वीको यो नै अहिलेसम्मको उच्च स्कोर हो ।
यशस्वीले पहिलो विकेटका लागि कप्तान रितुराज गाइकवाडसँग ९।५ ओभरमा १०३ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछिका ब्याटरबीच साझेदारी बन्न नसक्दा भारत विशाल योगफलसम्म पुग्न सकेन ।
कप्तान गाइकवाडले २५ रन बनाए । रिंकु सिंहले ३७ र सिवम दुवे २५ रनमा अविजित रहे । यी दुईले पाँचौ विकेटका लागि ५२ रनको साझेदारी गर्दै भारतलाई बलियो योगफलसम्म पुर्याएका हुन् ।नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले ३१ रन खर्चिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।
नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।














