काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बढ्दै गएको जनताको असन्तुष्टि र जनआक्रोश व्यवस्थाविरुद्ध नभएर नेतृत्व गर्ने व्यक्तिमाथि भएको बताएका छन् । बुधवार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य तथा प्रनिधिसभाका सांसदसमेत रहेका पौडेलले नेतृत्वमा सीप र क्षमता नभएकाले देश अघि बढ्न नसकेको बताएका छन् ।
‘बढ्दै गएको असन्तुष्टि र जनआक्रोश व्यवस्थामाथि होइन नेतृत्व गर्ने व्यक्तिमाथि हो । लङ ड्राइभमा जानका लागि ट्रायल पास गरेर मात्र पुग्दैन, स्कील र क्यापासिटी दुवै चाहिन्छ,’ उनले फेसबूकमा लेखेका छन्, ‘यो भएन भने पुरानो लाइसेन्स हुँदैमा मात्र सुरक्षित तरिकाले गन्तव्यमा पुग्न सकिँदैन ।’
यसअघि दोस्रो जनआन्दोलनको सिलसिलामा २०६२ सालमा १२ बुँदे सम्झौता गरेका तत्कालीन ७ दल र माओवादी घटकले गणतन्त्रविरुद्ध प्रहार शुरू भएको निष्कर्षसहित मिलेर प्रतिवाद गर्ने सहमति गरेका थिए ।
प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले मंगलवार सिंहदरबारमा आयोजना गरेको बैठकमा १२ बुँदे पक्षधर शक्तिबीच गणतन्त्रको रक्षाका लागि मिलेर अघि बढ्ने सहमति भएको थियो ।
बैठकमा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सरकारको अकर्मण्यताका कारण गणतन्त्रविरुद्ध प्रहार भएको बताएका थिए ।
मूलधारका राजनीतिक दलप्रति आक्रोश बढाउने, राजतन्त्रको नारा लगाउने र अराजकता फैलाउन दुर्गा प्रसाईँ सक्रिय भएकोले उनका क्रियाकलापलाई छुट दिन नहुने बैठकमा कुरा उठेको थियो ।
दलहरूको यसै सहमतिलाई संकेत गर्दै युवा नेता पौडेलले नेतृत्व नै असक्षम भएकाले जनतामा आक्रोश पोखिरहेको बताएका हुन् ।














