काठमाडौँ, २ मङ्सिर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विभिन्न तीनबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
आज सोही गाउँपालिका पुगेका प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष मिङमा छिरी शेर्पाले स्थानीय समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा आफूहरु असाध्यै हर्षित भएको उल्लेख गरिएको छ ।
विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित सो गाउँपालिकाले सङ्घ, प्रदेश र विभिन्न दातृ निकायसँग सहकार्य समन्वय गर्दै गाउँपालिकालाई समृद्ध बनाउन प्रयासरत रहेको ब्यहोरासमेत सो अवसरमा अवगत गराएको थियो ।
हवाई यातायातको भर पर्नु परेकाले यस क्षेत्रमा यातायातको सहज पहुँचका लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गरी पालिका केन्द्रसम्मको सडक ट्र्याक खोल्ने कार्यलाई द्रुत गतिमा भइरहेको जानकारी गराएको छ । सगरमाथा क्षेत्र जोड्ने उक्त सडकको स्तरोन्नतिको योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी बजेट विनियोजन गरिदिन गाउँपालिकाले प्रधानमन्त्रीलाई अनुरोध गरेको हो ।














