जाजरकोट । चिसोबाट जाजरकोटमा एकमहिने शिशुको पनि निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन भएको हो।
भेरी नगरपालिका-२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो।
निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए।
चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन्। चिसोकै कारण यसअघि नै ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ।
भुइँचालोको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकामा चार जनाको मृत्यु भएको छ। नलगाड नगरपालिकामा ३, भेरी नगरपालिकामा २, जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा १र१ जनाको चिसोका कारण मृत्यु भएको छ।
बारेकोट गाउँपालिका वडा नम्बर १ का डुमे पुन र कर्णवीर विक, वडा नम्बर ४ जिरीका नरेन्द्रबहादुर सिंह र वडा नम्बर ६ का वीरबहादुर विकको मृत्यु भएको हो।
नलगाड नगरपालिका वडा नम्बर ४ का पम्फा रावल, गोपालबहादुर रावल र विष्णुकुमारी खत्रीको मृत्यु भएको छ।
भेरी नगरपालिका वडा नम्बर २ का धुलेश्वर कार्की र वडा नम्बर ४ का केशव भँडेलको चिसोले मृत्यु भएको हो। जुनीचाँदे गाउँपालिका वडा नम्बर ४ लुहादहकी सुगिली नेपाली र छेडागाड नगरपालिका वडा नम्बर १३ थानवाडाका मनसरी कामीको पनि चिसोका कारण मृत्यु भएको छ।
गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो।
उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्।
भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ।














