पुरानै लयतिर पर्यटन



गण्डकी, ६ मङ्सिर । “यो यामको पर्यटक आगमनले हामी सन्तुष्ट छौँ, पर्यटन क्षेत्र पुनःउत्थान भइरहेको छ”, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भने, “पर्यटन प्रवर्द्धनलाई यसरी नै निरन्तरता दिनसके छिट्टै कोभिडअघिकै स्थितिमा हामी पुग्छौँ ।” कोभिड–१९ महामारीताका थलिएको पर्यटन व्यवसाय अहिलको आर्थिक मन्दीबीच पनि चलायमान देखिएकामा उनले खुसी व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले भने, “पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन राम्रो छ, सबै पक्ष डटेर लागे पोखराको पर्यटन विकास र प्रवर्द्धनलाई अझ नयाँ उचाइ दिन सकिन्छ ।” यस वर्ष पोखरा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए । पोखरा र आसपासका गन्तव्यमा अघिल्ला वर्षको तुलनामा पर्यटकीय चहलपहल बढेकामा पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी र पर्यटन व्यवसायी उत्साहित छन् ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दसैँयता पर्यटकको आवागमन ह्वात्तै बढेको बताए । “चाडबाडका बेला लामो बिदा परेकाले पनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पोखरा भित्रिए, पदयात्रा गर्ने मुख्य याम पनि यही भएकाले विदेशी पर्यटकको आगमन पनि राम्रो छ”, उनले भने, “यो अवधिमा होटलमा चाप औसतमा ६० प्रतिशतसम्म रह्यो, कुनै दिन त ७० प्रतिशतसम्म पुग्यो, अहिले पोखराको पर्यटन व्यवसाय समग्रमा सन्तोषजनक अवस्थामा छ ।”

पर्यटन बजारले यही गति लिइरहे कोभिड–१९ अघिको स्थितिमा पुग्न धेरै समय नलाग्ने अध्यक्ष सुवेदीले बताए । उनले पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन राज्यका निकाय, पर्यटनसम्बद्ध सङ्घसंस्था, पर्यटन व्यवसायीलगायतले सामूहिक पहल लिनुपर्ने उल्लेख गरे । “पर्यटन प्रवर्द्धनमा नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ”, उनले भने ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० का प्रमुख डा रबिन कडरियाले कोभिड–१९ को प्रभावले सुस्ताएको पर्यटनले पुरानै लय पछ्याइरहेको बताए । “दोस्रो पर्यटकीय याम सुरु हुँदासम्ममा यो वर्ष पर्यटक आगमन अझ बढ्ने देखिन्छ”, उनले भने, “यस क्षेत्रको पर्यटन पुनःउत्थानको दिशामा अगाडि बढेको छ, पर्यटन व्यवसायी पनि उत्साहित देखिन्छन् ।”

पदयात्राका लागि विश्वमै परिचित अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या यस वर्ष बढेको प्रमुख डा कडरियाले बताए । उनका अनुसार कोभिड–१९ महामारीयता आर्थिक वर्ष २०७८/७९ देखि अन्नपूर्ण क्षेत्रमा पुनः पर्यटक आगमन बढ्न थालेको छ । सो आवमा ७५ हजार आठ सय २४ पर्यटक त्यस क्षेत्रमा पुगेकामा आव २०७९/८० मा एक लाख ७२ हजार एक सय आठ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेको प्रमुख डा कडरियाले जानकारी दिए।

प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार  ९ : ३३ बजे