राजतन्त्र फर्कने सम्भाबना छैन : एमाले अध्यक्ष ओली



डडेल्धुरा १५, मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत अगाडि बढ्ने सङ्कल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने धारणा राखेका छन् ।

पार्टीको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज डडेल्धुरामा आयोजित सभामा अध्यक्ष ओलीले केही तत्वहरु राजतन्त्र फर्काउन लागेको भन्दै त्यो सम्भव नभएको बताए ।

उनले २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै त्यसको १० वर्षमा बेरोजगारी अन्त्य भइ समृद्धि हासिल हुने जिकिर गरे ।

उनले भने, ‘सरकारका वरिपरिका मानिसहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । सत्ताधारीहरुको प्रचार अभियान एमाले, केपी ओली, एमालेका नेताहरुको बिरुद्ध, भ्रष्टाचारको विभिन्न नचाहिने कुरा उचालेर बसेको छ । जनतालाई अल्मल्याउने काम गरिरहेका छन् । नेकपा एमाले देश बनाउने संकल्प बोकेर हिँडेको पार्टी हो । यो सुन तस्करी, कमिसनखोरी, भ्रष्टाचारमा लाग्दैन । देश बनाउने काममा लाग्छ । यो गठबन्धन कथं कदाचित टिक्यो भनेपनि सम्हाल्नै नसक्ने गरी देशलाई बर्बादीमा लग्नेछ । यदी ०८४ को चुनावमा पनि नेकपा एमालेले एकल बहुमत ल्याएन भने देश रहन्छ की रहँदैन रु देश बर्बाद त भइसक्यो । अझै बर्बाद हुनेछ । त्यसकारण ०८४ को चुनावमा नेकपा एमालेको नेतृत्वमा सरकार हुनुपर्छ । यो सरकार कसैले ढाल्नु पर्दैन, सरकार हल्लिरहेको छ । चर्याकमर्याक छ । यो सरकार कुनै समय आफैँ ढल्न सक्छ । यो कुनै खुट्टा भएको सरकार नै होइन । यो त गठबन्धनका छेस्का टिकाएर अडेको सरकार हो । यसका कुनै सिद्धान्त छैन, नीति छैन । यो सरकार माओवादीको प्रचण्डको नीतिमा हिँड्न खोजेको छ, सकेको छैन । नेपाली काँग्रेस प्रचण्ड पथको भरिया बनेर हिँडिरहेको छ ।’

प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार  ४ : ०३ बजे