शक्तिशाली झाँक्री बन्न बालकको हत्या, सिद्धि प्राप्ति गर्ने नाउँमा हत्या गरेको पुष्टि



धनुषा जेठ, १६–
शक्तिशाली झाँक्री बन्ने ‘विश्वास’मा धनुषामा एक व्यक्तिले बालकको हत्या गरेको खुलेको छ ।
मिथिला नगरपालिका ६ ढल्केबरका शम्भु साहका अढाई वर्षीय छोरा आर्यन भनिने समिर साहलाई ‘बलि’ दिएको अभियोगमा ५५ वर्षीय झाँक्री शत्रुधन महतोलाई पक्राउ परेपछि घटनाको रहस्य खुलेको हो ।

गत वैशाख २३ गते हराएका आर्यनको शव वैशाख २४ गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी ईकाइले संयुक्त रूपमा ६५ जनासँग बयान लिएको आधारमा धामी झाँक्रीको कला सिक्दै आएका महतोलाई पक्राउ गरेको हो ।

उनको साथबाट एक थान धारिलो हतियार, घटना गर्दाको बखत लगाएको गन्जी, गम्छा र धोतीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्ररहरीले महतोको बयानको आधारमा बालक आर्यनको बलि सिद्धि प्राप्ति गर्ने नाउँमा हत्या गरिएको पुष्टि भएको जनाएको छ । बलि दिएपछि आफू शक्तिशाली हुने अन्धविश्वासमा हत्या गरेको उनले प्रहरीमसक्ष बयान दिएको धनुषा प्रहरीले जनाएको छ ।

वैशाख २३ गते साँझ आर्यनकी आमा रेनुदेवी घाँस काट्न गएको मौकाछोपी झाँक्री महतोले बालकलाई ललाइफकाइ आफ्नै घरको दैलोबाट अपहरण गरेका थिए । सोही राति झाँक्री महतोले बालकलाई लुकाएर राखेको र राति २ बजे सिद्धि प्राप्ति हुने अन्ध विश्वासमा आफ्नै आंगनमा धारिलो हतियार प्रहार गरी देवी देउताको नाममा बालकको घाँटी रेटेर हत्या गरेका थिए ।

बलिपश्चात बालकलाई कृष्णानन्दको झाडीमा बालकको शवलाई फालेका थिए । त्यसपछि उनले बालकलाई बलि दिएको हतियार र लुगाकपडा समेत धोइपखाल गरी नुहाएकासमेत थिए ।

झाँक्री महतो घरपरिवारका सदस्य उपचार गराउन बाहिर गएको र घरमा कोही नभएको मौका छोपी बालकको निर्दयतापूर्वक बलि दिएको अनुसन्धानबाट खुलेको एसपी खनालले बताए । झाँक्रीको घर आर्यनको घरबाट सय मिटर टाढा छ । आर्यनका बुबा वैदेशिक रोजगारमा छन् भने आर्यन एक्ला छोरा हुन् ।

झाँक्री महतोमाथि अपहरण शरीर बन्धक राखी हत्या गरेको ज्यानसम्बन्धी मुद्दामा कारवाही प्रक्रिया बढाइएको एसपी खनालले विहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

महतोलाई धनुषा जिल्ला अदालतमा पेश गरी पहिलो पटक दिन ७ को म्याद थप गरिएको छ । मृतक बालकका हजुरवुवा पिताम्वर साह हलुवाईले शत्रुधन महतोबिरुद्व अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यान सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार  ७ : ३८ बजे