विप्लवसहित नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

अदालतले नेकपा महासचिव चन्दसहित उनको पार्टीका उपत्यका विशेष ब्युरो इञ्चार्ज माइला लामा, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ।

उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो।

२०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : मंसिर १८, २०८० सोमबार  ५ : २९ बजे