पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गर्यो : एमाले अध्यक्ष ओली



मंसिर २३, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताएका छन् ।शनिवार मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विमानस्थल चलाउन पाउँदैनौ भनेर भित्र भनेपनि बाहिरबाट कुनै शक्तिले भन्न नसक्ने बताए । उनले चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने पनि वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउनसक्ने भन्दै सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए ।

उनले भने, ‘विमानस्थल कसैले चलाउन पाउँदैनौ भनेर भित्र भनेको होला, बाहिर त भन्न सक्दैन नि । त्यसकारण एयरपोर्ट त चल्नुपर्छ नि । चीनलाई मात्रै टुरिस्ट लिएर आउ भन्यो भने ५, १० लाख पयर्टक त चीनले ल्याउँछ, पोखरा एयरपोर्टमा, आफ्नै प्लेनबाट । लुम्बिनी चलाउनुप¥यो नि । बुद्धिष्टहरुको ओहिरो लाग्छ । एयरपोर्ट बनेको छ, आफ्नै जमिनमा बनेको हो, आफ्नै जमिनबाट उडाउने र ल्याण्ड गर्ने हो । के समस्या छ रु तर सरकार यस्तो छ, पोखरामा पनि एयरपोर्ट उद्घाटन भएछ होइन, भनेपछि अँ बनाइहाले भन्ने तरिका छ । उद्घाटन भयो, अब चलाइन्छ भन्नु परेन । हाम्रो सार्वभौम सत्ता, स्वाधिनताको, स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्छ । लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न, हाम्रा उच्चस्तरका वार्तामा समावेश हुन सक्दैन भने त्यो भन्दा देशप्रतिको बेइमानी के हुन्छ र?’

अध्यक्ष ओलीले विकासमा कुनैपनि नेपाली भूभाग पछि पर्नु नहुने बताए ।

प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार  १ : ४३ बजे