अमरेश सिंहले बार्गेनिङ गरेको प्रधानमन्त्री सचिवालयको आरोप,जनप्रतिनिधि भन्न पनि लाज हुने टिप्पणी



काडमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सांसद अमरेश कुमार सिंहले अराजनीतिक बार्गेनिङ गरेको दाबी गरेको छ । आइतबार एक सूचना जारी गर्दै प्रधानमन्त्रीको सचिवालयले यस्तो दाबि गरेको हो।

प्रधानमन्त्री सचिवालयले सांसद अमरेशकुमार सिंहलाई जनप्रतिनिधि भन्न पनि लाज हुने टिप्पणी समेत गरेको छ। ‘सत्य एकातर्फ छ, तर अमरेश सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णतस् झुठ कपोलकल्पित र व्यक्तिको इज्जयत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्‍याउने एवं कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ,’ प्रधानमन्त्रीको सचिवालयले विज्ञप्तिमा भनेको छ।

सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री प्रष्पकमल दाहाल प्रचण्ड, उनको परिवार र सचिवालयकाविरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएको प्रधानमन्त्री सचिवालयको जिकिर छ। सरकारले पूर्णता पाएसँगै सिंहले अराजनीतिक बार्गेनिङ सुरु गरेको दाबी प्रधानमन्त्री सचिवालयको छ।

राज्यका ठूला भ्रष्टाचारका काण्डमा देशका सबै राजनीतिक दल र सरकारको नेतृत्वकर्ता तथा आसेपासेहरूको संलग्नता हुने गरेको सिंहले बताउँदै आएका छन्।

सांसद सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर अपारदर्शी ढंगले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदबिक्री भएको दाबी गर्दै शुक्रबार रिट निवेदन दायर गरेका थिए।

प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्ति

मा. अमरेश कुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन्। उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ।

उनको यो निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न हामी सम्मानित प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराउँछौं।

देशलाई ठग्ने उद्देश्यले ncell बिक्री गरेको घटनालाई सरकारले गम्भीरतापूर्वक लिई अध्धयन र छानबिनको प्रक्रिया अघि बढाइसकेको सबैमा अवगत नै छ।

सम्माननीय प्रधानमन्त्रीज्यू कोप २८ मा भाग लिन दुबईमा रहेको बेला गरिएको यो किनबेचको प्रपञ्चलाई उहाँ नेपाल आउने बित्तिकै छानविन र कार्बाहीको प्रक्रिया अघि बढाइएको छ। छानविन समितिको अध्ययन र छानविनपछि सरकारले प्रचलित कानुनबमोजिम देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने नै छ।

सत्य एकातर्फ छ, तर अमरेश सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णतस् झुठ कपोलकल्पित र व्यक्तिको इज्जयत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्‍याउने एवं कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ।

यस सन्दर्भमा विगत केही समयदेखि अराजनीतिक व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि श्रृंखलावद्ध दुस्प्रचार गर्ने गरेको कुरा पनि स्पष्ट गर्न चाहन्छौं।

सम्माननीय प्रधानमन्त्रीज्यूका सचिवालयका सदस्यहरू सबै प्रकारका कुप्रचार, आरोप र चुनौतीहरु सामना गर्न तयार छौँ। हामीलाई विश्वास छ, छानविन समितिले निर्धारित समयमा काम गर्ने छ, सत्य सबैसामु छलङ्ग हुनेछ, दोषी कोही छुट्ने छैनन् र कुप्रचार एवं भ्रमका सम्पूर्ण पर्दा च्यातिनेछन्। धन्यवाद।

(प्रम सचिवालय)

प्रकाशित मिति : मंसिर २४, २०८० आईतबार  ७ : ५१ बजे