सङ्कल्प यात्रामा जनता आए,एमालेको आत्मविश्वास बढ्यो : अध्यक्ष ओली



काठमाडौँ, २५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा आज दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा नागरिकले माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताए । गौरीशङ्करको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वादप्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको ओलीको भनाइ थियो ।

एमालेको यात्राका क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनि गरिएको प्रचारको अध्यक्ष ओलीले आलोचना गरे । एमालेले सुरु गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएकाले त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले युवालाई देशमै राख्ने वातावरण बनाउनुपर्नेमा जोड दिएयो । राजनीतिक पार्टीले अब विकास र सामाजिक सुधारको अभियन्ताका रूपमा काम गर्नुपर्ने उनको भनाइ थियो ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते सुरु यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति : मंसिर २५, २०८० सोमबार  ७ : १९ बजे