बुटवल जेठ, १७–
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले सत्तारुढ नेकपामा सुरु भएको आलोपालो नेतृत्वको विषय लज्जास्पद भएको बताएका छन् । महासचिव वैद्यले पार्टी एकीकरणपछि प्रचण्डले सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित भएको बताएका हुन् । अन्तरपार्टी मामलाबारे खासै नखुल्ने वैद्यले प्रचण्डको अभिव्यक्तिबारे टिप्पणी गरेका हुन् । शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव वैद्यले दुई पार्टीबीच चुनावी गठबन्धन बन्दा केपी शर्मा ओलीले ३ वर्ष र प्रचण्डले २ वर्ष सरकारको नेतृत्व गर्ने कुरा मिडियामार्फत आफूले सुनेको बताए । वैद्यले भने, ‘तर, दुई पार्टी एक भइसकेपछि र दुई तिहाइको सरकार हुँदाहुँदै प्रधानमन्त्रीमा आलोपालोको कुरा गर्नु लज्जास्पद हो ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी दुई अध्यक्षबीच गोप्य सहमति एक टेलिभिजनको अन्तरवार्तामार्फत सार्वजनिक गरेका थिए । यसलाई लिएर नेकपाभित्र यतिवेला तरंग पैदा भएको छ ।
वैद्यले संघीय सरकारले ल्याएको बजेटप्रति टिप्पणी गर्दै त्यसलाई दयनीयको संज्ञा दिएका छन् । बजेट प्रभावकारी नभएकाले यसले समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा नगर्ने उनको दाबी छ
फरक प्रसंगमा वैद्यले विप्लवसंग पार्टी एकताको आधार तयार गर्ने प्रयास ६÷७ महिनायता रोकिएको बताए । उनले भने, ‘उहाँहरु र हाम्रो कार्यदिशामा पनि खाडल छ, उहाँहरुको अलि रहस्यमूलक छ, त्यसैले तत्काल एकता सम्भावना छैन ।’