एनसेलविरुद्ध सांसद सिंहको रिटमा आज सुनुवाइ



काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । गत शुक्रबार सांसद सिंहले दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । तर, दुवै दिन ‘हेर्न नभ्याइने’मा परेको उक्त रिटको पेसी आजलाई सरेको हो । मंगलबार सो रिटमाथि सुनुवाइ हुने भएको हो ।

स्वतन्त्र सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको बताएका थिए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिव तथा छोरी गंगा दाहालको नामै लिएर चलखेल गरेको आरोप लगाएका थिए । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले प्रमाण पेश गर्न सांसद सिंहलाई सार्वजनिकरूपमा चुनौती दिएको छ ।

एनसेल खरिद बिक्री यूकेमा गरेर नेपालमा तिनुपर्ने क्यापिटल गेन ट्याक्स छली गरिएको सांसद सिंहले सार्वजनिक रुपमा बताएका छन् । एनसेलमा ठूलो चलखेल भएको उल्लेख गर्दै उनले आफूसँग त्यसको प्रमाण रहेको सामाजिक सञ्जालमार्फत दाबी गरेका थिए ।

प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार  १० : १९ बजे